काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेस्ला कम्पनीका प्रमुख इलन मस्कसँग किनेको विद्युतीय गाडी बिक्रीमा राख्ने निर्णय गरेका छन्। ट्रम्प र मस्कबीच सार्वजनिक रुपमा वाकयुद्ध चर्किएको केही दिनमै यस्तो निर्णय आएको हो।
ट्रम्पले मस्कसँग किनेको रातो टेस्ला गाडी अहिले ह्वाइट हाउसको प्रांगणमै राखिएको छ। समाचार संस्था न्युयोर्क टाइम्स अनुसार, राष्ट्रपति ट्रम्पले उक्त गाडी बेच्ने निर्णय गरेकामा ह्वाइट हाउसका एक अधिकारीले पुष्टि गरेका छन्।
दुईबीचको विवाद गत साता मस्कले ट्रम्पको आलोचना गर्दै सामाजिक सञ्जाल एक्स (Ex) मा श्रृंखलाबद्ध पोस्टहरू लेखेपछि सुरु भएको थियो। जवाफमा ट्रम्पले पनि आफ्नो ट्रुथ सोसल अकाउन्टमा मस्कप्रति तीव्र असन्तुष्टि व्यक्त गर्दै पोस्ट गरेका थिए। ट्रम्पले मस्कको कम्पनी टेस्लालाई दिइएको सरकारी अनुदान रोक्ने र सबै सम्झौता रद्द गर्ने निर्णय सार्वजनिक गरेपछि मस्क आक्रोशित बनेका थिए।
ह्वाइट हाउसमा डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसियन्सी (DoGE) को प्रमुखका रूपमा कार्यरत रहँदा मस्कले संघीय खर्च कटौती गर्न अनेकौं उपायहरू प्रस्ताव गरेका थिए—संघीय कर्मचारी संख्यामा कटौतीदेखि अन्तर्राष्ट्रिय एजेन्सीहरूको पुनर्संरचनासम्म। तर डज प्रमुखको रूपमा कार्यकाल समाप्त भएको एक सातामै ट्रम्पले त्यही सुझावहरू उल्ट्याएर मस्कविरुद्ध प्रयोग गरेपछि सम्बन्ध चिसिएको बताइन्छ।
यसैबीच दुई पक्षबीचको वाकयुद्धले राजनीतिक तनाव चुलिएपछि ह्वाइट हाउसका केही अधिकारीहरूले दुबैलाई टेलिफोन संवादमार्फत विवाद सुल्झाउन आग्रह गरेका थिए। तर ट्रम्पले मस्कसँग वार्तामा इच्छुक नरहेको जवाफ दिएका छन्।
विद्युतीय सवारीप्रति पहिले आलोचनात्मक धारणा राख्ने ट्रम्पले गत मार्चमा टेस्लाको व्यवसायमा सहयोग पुर्याउने उद्देश्यले एउटा टेस्ला गाडी किनेका थिए। मस्कले ट्रम्पलाई समर्थन गरेपछि उनको कम्पनीले ठूलो आर्थिक घाटा बेहोरेको भन्दै ट्रम्पले त्यसको क्षतिपूर्ति स्वरूप टेस्ला प्रचारका लागि गाडी खरिद गरेका थिए। यद्यपि, सुरक्षाका कारण उक्त गाडी ट्रम्प आफैंले चलाउन नपाउने र ह्वाइट हाउसका कर्मचारीमार्फत मात्र प्रयोग हुने व्यवस्था गरिएको थियो।
ट्रम्प अघिल्लो वर्षसम्म विद्युतीय सवारीमाथि कटु आलोचना गर्ने व्यक्तिमा गनिन्थे। २०२३ को क्रिसमसमा त उनले विद्युतीय गाडीहरू ‘नर्कमा कुहिनु पर्छ’ भन्ने विवादास्पद अभिव्यक्ति पनि दिएका थिए। तर पछि मस्कले ट्रम्पको निर्वाचन प्रचारमा खुलेर समर्थन गरेपछि उनीहरूको सम्बन्ध केही समयका लागि सुध्रिएको थियो।
तर पछिल्लो घटनाक्रमले मस्क र ट्रम्पबीचको सम्बन्ध पुनः बिग्रिएको छ। ट्रम्पले टेस्लाको गाडी बेच्ने निर्णय गरेसँगै टेस्लाको सेयरमा समेत व्यापक असर परेको छ। बिहीबार मात्र टेस्लाको सेयर मूल्यमा १४ प्रतिशतको गिरावट आएको थियो, जसले कम्पनीलाई लगभग १५० अर्ब अमेरिकी डलर बराबरको क्षति पुर्याएको बताइएको छ।
प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया