बुटवल । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पार्टी अध्यक्ष माधवकुमार नेपाल पतञ्जलि जग्गा प्रकरणमा संलग्न नरहेको स्पष्ट पारेका छन्। आज गृह जिल्ला रुपन्देहीको तिलोत्तमामा आयोजित पार्टी कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले उक्त विषयमा स्पष्ट धारणा राखेका हुन्।

भुसालले कानुन र न्याय प्रणालीप्रति पार्टीको सम्मान रहेको उल्लेख गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोप लगाएजस्तो अध्यक्ष नेपाल अनियमिततामा मुछिएको प्रमाण नभएको बताए। पहिले नै तामेलीमा राखिएको मुद्दालाई प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत बदला लिने उद्देश्यले पुनः सक्रिय बनाएको आरोप उनले लगाए।

advertisement

“विपक्षीहरूलाई २०८४ सालअघि नै राजनीतिक रूपमा निष्क्रिय बनाउने योजना अनुसार अध्यक्ष नेपालमाथि मुद्दा लगाइएको हो,” भुसालले भने। उनले यो कार्यलाई बदला र प्रतिशोधको राजनीति भन्दै आलोचना गरे।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सरकारको चालबाजी पनि प्रतिशोधकै अभिव्यक्ति भएको भुसालको भनाइ थियो। “रविविरुद्ध जे भयो, अहिले अध्यक्ष नेपालमाथि पनि त्यही नियति दोहोरिएको छ,” उनले बताए।

देशमा हालको नेतृत्व असफल भइसकेको उल्लेख गर्दै भुसालले मुलुकमा निराशा छाएको बताए। यस अवस्थाबाट बाहिरिन सुशासन, रोजगारी र पारदर्शिता पार्टीको मुख्य एजेन्डा हुनुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com