बिराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको कटहरी गाउँपालिका–२, हल्दीबारीमा निर्माण सम्पन्न भएको २०० शय्याको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेशन फाउन्डेशनको उद्घाटन गरेका छन्।
जीवन विकास समाजको अगुवाइमा करिब २ अर्ब रुपैयाँको लागतमा निर्माण गरिएको सो अस्पताल सामाजिक सेवा र शिक्षा क्षेत्रको महत्वपूर्ण प्रयासका रूपमा स्थापित गरिएको हो। अस्पताल नाफा वितरण नगर्ने सामाजिक व्यवसायको अवधारणामा आधारित रहेर सञ्चालनमा ल्याइएको छ।
कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री ओलीले स्वास्थ्य र प्राविधिक शिक्षाको पहुँच जनताको घरदैलोमा पुर्याउने खालका परियोजनाहरू राज्यको साझेदार बन्नुपर्नेमा जोड दिए।
अस्पतालका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले समुदायको हितलाई प्राथमिकता दिँदै अस्पताल सञ्चालनमा ल्याइएको बताए। उनका अनुसार अस्पताल सञ्चालनको प्रमुख उद्देश्य ग्रामीण क्षेत्रका नागरिकलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा प्रदान गर्नु हो।
उद्घाटन समारोहमा मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट करिब १० हजारभन्दा बढी नागरिकको उपस्थिति रहेको थियो। समारोह भव्य रूपमा सम्पन्न भएको आयोजकहरूले जनाएका छन्।
प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार












प्रतिक्रिया