काठमाडौँ । सरकारले नेकपा एमालेकी सांसद ज्वालाकुमारी साहको निर्वाचन क्षेत्रमा ‘मदन आश्रित’को नाममा भवन निर्माण गर्न ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सहरी विकास मन्त्रालय अन्तर्गत यो रकम छुट्याइएको हो।
यस विषयमा सार्वजनिक भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ। नेताको नाममा भवन बनाउने विषयलाई लिएर नागरिक स्तरबाट असन्तुष्टि प्रकट भइरहेका छन्।
सांसद साहले आफूले नै सो बजेट माग गरेको पुष्टि गरेकी छन्। उनले आलोचनाबारे प्रतिक्रिया दिन आवश्यक नरहेको भन्दै टिप्पणी गरेकी छन्। “आलोचना गर्नेहरूको मुख थुन्न सकिँदैन,” सांसद साहले भनिन्, “एमालेले गरेका विकासका कामहरूमा डाहा गर्नेहरूले यस्ता टिप्पणी गरेका हुन्। तर हामी जनताको हितमा काम गर्न कहिल्यै पछि हट्दैनौं।”
उनले थप भनिन्, “देश र जनताको विकासका लागि गरिएको कामप्रति कतिपयलाई चित्त नबुझ्नु स्वाभाविक हो, तर त्यसले हाम्रो अठोटमा असर पार्दैन।”
सरकारको बजेटले नेताका नाममा बन्ने संरचनाहरूको औचित्य र प्राथमिकता बारे फेरि एक पटक बहस सुरु गराएको छ।
प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया