काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूविरुद्ध भ्रष्टाचारको मुद्दा बदलाको भावना र पूर्वाग्रहका आधारमा दायर गरिएको आरोप लगाएका छन्।
शनिबार, जेठ २४ गते, पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले आफ्नो राजनीतिक भूमिकालाई लिएर केही व्यक्तिहरू आतंकित भएको र तिनैले आक्रोशका साथ झुट्टा आरोप लगाएको दाबी गरे।
“नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका सशक्त र प्रभावशाली छ,” उनले भने, “यही कारणले केहीलाई असहज बनेको छ। पूर्वाग्रह र बदलाको भावना बोकेर ममाथि भ्रष्टाचारको मुद्दा लगाइएको छ।”
नेपालले आफूले कुनै अनुचित कार्य नगरेको दाबी गर्दै भने, “मैले कसैसँग एक रुपैयाँ पनि घुस लिएको छैन, न एक दामको जग्गा अनुचित रूपमा लिएको छु। यदि मैले देश वा जनतालाई हानि पुर्याउने काम गरेको छु भने, त्यसको सम्पूर्ण जिम्मेवारी लिन म तयार छु।”
उनले निष्पक्ष न्यायमा विश्वास राख्दै न्यायपालिकाले सत्यको पक्षमा फैसला गर्नेमा पूर्ण भरोसा रहेको बताए। “न्याय जित्नुपर्छ, अन्याय हार्नुपर्छ,” उनले भने, “हामी कानुनी शासनको पक्षमा छौं र त्यसलाई सुदृढ बनाउन चाहन्छौं।”
कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले विचार र मतभिन्नताका कारण कसैसँग वैमनस्यता राख्नु अनुचित भएको उल्लेख गरे। “विचार नमिल्दा शत्रुता गर्नुको सट्टा संवाद हुनुपर्छ,” उनले भने, “चुनौतीहरूबाट भाग्ने होइन, सामना गर्नुपर्छ। म मैदान नछाड्ने पक्षमा छु।”
उनले अन्त्यमा भने, “नडराउनु, नबिराउनु भन्ने मेरो सिद्धान्त हो। झुटा आरोप र अनावश्यक आक्षेपको प्रतिकार दृढताका साथ गरिन्छ।”
प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार













प्रतिक्रिया