चितवन । नेकपा एमाले चितवनको ११औं जिल्ला अधिवेशनअन्तर्गत प्रथम प्रतिनिधि परिषद् बैठक आज भरतपुरमा सम्पन्न भएको छ। बैठकलाई सम्बोधन गर्दै पार्टीका महासचिव शंकर पोखरेलले चितवनमा पार्टीले भोगेको हारको समीक्षा गर्दै आगामी चुनाव लक्षित ‘मिशन ८४’ सफल बनाउन सांगठनिक रूपमै एकजुट भएर लाग्नुपर्ने निर्देशन दिए।

महासचिव पोखरेलले प्रतिनिधि परिषद्का सदस्यहरूलाई पार्टी नेतृत्वलाई इमानदार सुझाव र सल्लाह दिन आग्रह गरे। हाल पार्टी र नेतृत्वलाई लक्षित गरी घेराबन्दी भइरहेको भन्दै उनले त्यसको प्रतिवाद एकताबद्ध भएर गर्नुपर्नेमा जोड दिए। पोखरेलका अनुसार पार्टी लोकप्रिय भएको कारणले अनेक कोणबाट एमालेलाई लक्ष्यविन्दु बनाइएको छ।

advertisement

उनले पार्टी लोकप्रिय भएका कारणले सबैको तारो नेकपा एमालेलाई बनाइएको बताए। जातीय राज्य र ‘एक मधेश, एक प्रदेश’को नारा बोकेर अघि बढ्ने समूहहरूले एमालेको राष्ट्रिय एकता र अखण्डताको धारणा विरुद्ध आक्रमण गरिरहेको आरोप उनले लगाए।

“पार्टी जहाँ कमजोर छ, संगठन त्यहीँबाट सुरु गर्नुपर्छ। कमजोरी गर्ने नेताबाटै सुधार थाल्न जरुरी छ,” महासचिव पोखरेलले भने। साथै, सामाजिक सञ्जालमा फैलिने फेक समाचारको आधारमा धारणा बनाउने प्रवृत्तिले समाजलाई विकृति र विघटनतर्फ डोहोर्याइरहेको चेतावनी पनि दिए।

देशको समग्र आर्थिक सुधारलाई प्राथमिकता दिँदै उनले वर्तमान बजेट लोकप्रियता भन्दा पनि अर्थतन्त्रको पुनरुत्थानमा केन्द्रित रहेको बताए। एमाले नै मुलुकमा विकासको मूल फुटाउने पार्टी भएको उनको भनाइ थियो।

बैठकमा एमाले चितवनका अध्यक्ष कमलराज पाठकले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरे भने लेखा समिति अध्यक्ष शंकर अधिकारीले लेखाप्रतिवेदन पेस गरेका थिए।

प्रकाशित मिति: २४ जेष्ठ २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com