काठमाडौं । राजसंस्थाको पुनर्स्थापनाका लागि गठन गरिएको संयुक्त जनआन्दोलन समिति पुनर्गठनको तयारीमा छ। वर्तमान संयोजक नवराज सुवेदीको नेतृत्व हटाएर युवामुखी संरचना बनाउने प्रक्रिया सुरु गरिएको समितिका प्रवक्ता स्वागत नेपालले फेसबुक स्टाटस माफर्त बताएका छन्।
उनका अनुसार अबको आन्दोलनको नेतृत्व युवाले गर्नेछन् र अनुभवी नेताहरूलाई सल्लाहकारको भूमिकामा राखिनेछ। “अब युवा अगाडि आउँछन्। उनीहरूले तय गरेको कार्यक्रम बुढा पुस्ताले मान्नुपर्छ। नमान्ने हो भने सल्लाहकारको भूमिकामा सीमित हुन्छन्,” नेपालले भने।
उनि लेख्छन्- “संयुक्त जनआन्दोलन समितिमा एकजना बाहेक सबै व्यक्ति कुनै न कुनै दल र अभियानमा संलग्न व्यक्तिहरु थिए, स्वागत नेपाल सबैभन्दा अन्तिममा प्रवक्ताको रुपमा एकजना स्वतन्त्र र कानुनको मान्छे पनि चाहिने रहेछ भनेर थपेर राखिएको मान्छे थियो, उसले सकेसम्म बुढाहरुलाई मिलाउन सम्झाउन प्रयास गर्यो, तर बूढाहरुको स्वार्थ र अहंकारले आन्दोलनलाई कमजोर पार्न समीक्षा बैठक पनि मिडियाको वीचमा गरेर भताभुङ्ग पारे, जनभावनालाई तुहाउन प्रयास गरे तर युवाले तुहिन दिने छैन आन्दोलन सफल भएरै छोड्ने छ। केही समयको मात्र धैर्य जरुरी छ। हार नस्वीकार्नेलाई कसैले हराउन सक्दैन साथीहरु ढुक्क हुनुहोला।”
गत साता सुवेदी नेतृत्वको समीक्षात्मक बैठकमा देखिएको विवादपछि आन्दोलनको धार कमजोर भएको छ। बैठकका क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा बोलिरहँदा हल्ला–गल्ला भएपछि संयोजक सुवेदीले बैठक स्थगित गरेका थिए। यसले राजावादी पंक्ति थप निष्क्रिय बनेको जनाइएको छ।
राजसंस्थाको पक्षमा उभिएका ४४ वटा संगठनद्वारा घोषणा गरिएको अनिश्चितकालीन आन्दोलन पनि नेतृत्व विवादका कारण अलपत्र अवस्थामा पुगेको छ। नेताहरू एकअर्कालाई आरोप–प्रत्यारोप गर्दै आन्दोलनलाई एकीकृत ढंगले अगाडि बढाउन असफल भएका छन्।

प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार











प्रतिक्रिया