काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र ७० वर्षे उमेरहदको बहस समाप्त भइसकेको बताएका छन्।
अनेरास्ववियु (अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन) को २४औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले उमेरभन्दा पनि कार्यक्षमता र स्वास्थ्य हेर्नुपर्ने धारणा राखे।
उनले भने, “७० वर्षे उमेरहदको कुरा अब अप्रासंगिक भइसकेको छ। अहिले म आफैं ७४ वर्षमा प्रवेश गर्दैछु। यदि ७० वर्षमै रिटायर हुनुपर्ने नियम लागु हुन्थ्यो भने म अहिले यहाँ हुने थिइनँ।”
ओलीका अनुसार नेतृत्वको मापदण्ड उमेर होइन, स्वास्थ्य र कार्यक्षमता हुनुपर्छ। उनले उदाहरण दिँदै भने, “चीनमा दुई कार्यकाल मात्रै अध्यक्ष हुन पाउने नियम थियो। तर, राष्ट्र र पार्टीलाई शी जिनपिङको नेतृत्व आवश्यक ठानी त्यो नियम परिमार्जन गरियो। उनी अहिले ७२ वर्ष पुगिसक्नु भएको छ।”
ओलीले उमेरका कारणले मात्र नेताहरूलाई बिदा नगरिएको पनि प्रष्ट पारे। उनले भने, “माधव नेपाल ७० पुगेर हट्नु भएन, झलनाथ खनाल पनि उमेरकै कारण हटाइएका होइनन्। हटाउनु परे अन्य कारणले गर्दा हो। ७० वर्ष पुग्दैमा नेतृत्वबाट हटाउनु पर्ने कुनै कठोर नियम होइन।”
उनले मनमोहन अधिकारीलाई उदाहरण दिँदै भने, “मनमोहनजीलाई हामीले ७८ वर्षसम्म पनि हटाएका थिएनौं। उनी उमेरले होइन, निधन भएर पार्टीबाट बाहिरिनुभयो। यसैले, उमेर होइन, आवश्यकताको आधारमा निर्णय गर्नुपर्छ।”
ओलीले निष्कर्षमा भने, “नेतृत्वमा रहन चाहनेको चाहना मात्र होइन, पार्टी र देशलाई आवश्यक पर्ने पात्र हुनु मुख्य कुरा हो।”
प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया