सुर्खेत ।  कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि संसद्मा आइतबारदेखि छलफल सुरु भएको छ। छलफलमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले नीति तथा कार्यक्रमलाई आलोचना गर्दै यसलाई दिशाहीन, चुनावी भाषणको संकलन र पूर्वाग्रही दस्तावेज को संज्ञा दिएको छ।

विपक्षी दलका नेता एवं पूर्वमन्त्री राजकुमार शर्माले नीति तथा कार्यक्रमलाई “सुमेरु पर्वतजस्तै विशाल देखिए पनि वास्तविक कार्यान्वयनको दिशाबोध नभएको” टिप्पणी गरे। उनले भने, “कहाँ के रोप्ने, कहाँ के खन्ने भन्ने स्पष्टता छैन, नीति तथा कार्यक्रम काटछाँट गरेर टालटुले शैलीमा ल्याइएको छ।”

advertisement

शर्माले कृषि तथा वन क्षेत्रलाई बजेटमा प्राथमिकता नदिइएको भन्दै आपत्ति जनाए। “कर्णालीको अधिकांश जनशक्ति कृषि क्षेत्रमा आधारित छ। तर कृषि र वनको बजेट न्यून छ भने समृद्धिको कुरा खोक्रो हुन्छ,” उनले भने।

उनले अघिल्ला सरकारले ल्याएको ‘एक पालिका, एक प्राविधिक’ कार्यक्रमलाई निरन्तरता नदिएकोप्रति पनि असन्तोष जनाए। साथै मुख्यमन्त्री यामलाल कँडेल स्वयंले पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा सञ्चालित जुम्ल्याहा मूल (बृहत् पोखरी) आयोजना रोकिने चेतावनी दिएको विषयलाई संसद्मा उठाए।

“मुख्यमन्त्री आफैँ आयोजनामा गएर धम्की दिनु गम्भीर विषय हो,” शर्माले भने, “त्यो लोकतान्त्रिक अभ्यास र मर्यादासँग मेल खाँदैन।”

उनले नीति तथा कार्यक्रममा कर्णाली समृद्धिको कुनै स्पष्ट योजना प्रस्तुत नभएको आरोप लगाउँदै भने, “अनुभवी मुख्यमन्त्रीबाट ठूला अपेक्षा थियो, तर जनताको आँखामा छारो हाल्ने शैली देखियो।”

अन्त्यमा शर्माले मुख्यमन्त्रीले अझैसम्म खेलकुद विकास परिषद्का सदस्य–सचिव समेत नियुक्त नगरेको भन्दै प्रशासनिक ढिलासुस्ती र गैरजिम्मेवारीपनाको आलोचना गरे।

प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com