काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुट र उपगुटको राजनीति कुनै हालतमा स्वीकार्य नहुने स्पष्ट पारेका छन्।
अनेरास्ववियुको २४औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनको औपचारिक घोषणा हुनुअघि नै ‘फलानो नेता आउने रे’ भन्ने किसिमका हल्ला चलाउने प्रवृत्ति देखिएको भन्दै त्यसप्रति कडा असन्तुष्टि जनाए।
ओलीले भने, ‘अहिले हल्ला चलको छ, तल तल यो ग्रुप भनेका छन्, त्यो ग्रुप भनेका छन् । यसको कुनै आवश्यकता छैन । अर्को खेल हुन खोजेको छ यहाँ, फलानो आउने रे, यस्तो उस्तो । पार्टीमा कुनै छलफल भएको छैन, को अध्यक्ष को उपाध्यक्ष । महाधिवेशन घोषणा भएको छैन । बाहिर बाहिर हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्नेलाई निस्तेज पार्नुस् सामाजिक सञ्जालका स्टाटसहरूलाई जवाफ दिनुपर्छ।”
ओलीले पार्टीका आन्तरिक विषयलाई बाहिर लाने, विशेषतः सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत पार्टीप्रति भ्रम फैलाउने कार्यलाई बाह्य आक्रमणसरहको रूपमा लिने चेतावनीसमेत दिए।
उनले भने, “पार्टीभित्रका विषयमा छलफल हुनुपर्छ। तर बाहिर गएर ढुंगा हानेपछि त्यो आन्तरिक विषय रहँदैन। यस्तो प्रवृत्तिप्रति पार्टीले कडा जवाफ दिनुपर्छ।”
ओलीले लामो समयदेखि भीम रावलले पनि यस्तै तरिकाले पार्टीबाहिरबाट टिप्पणी गर्दै आएको स्मरण गराउँदै त्यस्ता गतिविधिले पार्टीलाई हैरान बनाउने गरेको बताए।
उनको स्पष्ट सन्देश थियो—पार्टीभित्र अनुशासन कायम राख्नुपर्छ, गुटबन्दी होइन, संगठन र कार्यदिशा केन्द्रमा हुनुपर्छ।
प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया