काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा निर्माणाधीन प्यारापिटको अवलोकन गरेका छन्।
नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गत भइरहेको निर्माण कार्यको निरीक्षणका लागि प्रधानमन्त्री ओली आइतबार कीर्तिपुर पुगेका हुन्। क्रिकेट मैदानको प्यारापिट निर्माण कार्य गत फागुनदेखि सुरु भएको हो।
प्यारापिट निर्माणको जिम्मा बीकेओआई–केसीडीसी–बिजी जेभी नामक निर्माण कम्पनीलाई दिइएको छ। कुल लागत ४३ करोड ७७ लाख रुपैयाँ तोकिएको यस परियोजना वैशाख २४ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो।
तर निर्धारित समयसीमा भित्र काम सम्पन्न नभएको देखिएपछि प्रधानमन्त्री ओलीले निर्माण प्रगति सुस्त भएको भन्दै चासो व्यक्त गरे। साथै, उनले निर्माण कार्य यथाशीघ्र सम्पन्न गर्न निर्देशनसमेत दिएका छन्।
सरकारी लगानीमा भइरहेको राष्ट्रिय महत्वको संरचनाको काममा ढिलाइ स्वीकार्य नहुने प्रधानमन्त्री ओलीको भनाइ थियो।
प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार













प्रतिक्रिया