काठमाडौँ । भिजिट भिसा प्रकरणमा संसद्को गतिरोध अन्त्यका लागि नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले आइतबार दुई बुँदे समझदारीको प्रस्ताव पेस गरेका छन्।

आइतबार सत्तापक्ष र विपक्ष बीच गतिरोध अन्त्यका लागि दिनभरि जसो छलफल चल्यो। तर अन्त्यमा निष्कर्षविहीन टुंगिएको हो।
छलफलमा काँग्रेसका तर्फबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, माओवादी केन्द्रबाट शक्ति बस्नेत र एकीकृत समाजवादीबाट राजेन्द्र पाण्डे सहभागी थिए।

advertisement

उनीहरू बानेश्वरको शंकर हलमा बैठक बसेका थिए।
सत्तारुढ दल नेकपा एमाले र विपक्षीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहभागी थिएन।

एमाले छानबिन समिति बनाउन तयार छैन भने रास्वपा गृहमन्त्री लेखकको राजीनामा र छानबिन समितिबाट पछि हटेको छैन।
यसबीच बैठकमा सहभागी नेताहरूले मध्यमार्गी उपाय खोज्न सुरु गरेका थिए। माओवादी सांसद बस्नेतले बैठकमा समझदारीका लागि दुई बुँदे ड्राफ्ट तयार पारे।

जसको पहिलो बुँदामा भिजिट भिसा प्रकरणमा अख्तियारले गरिरहेको छानबिनमा सहयोग गर्ने भन्ने उल्लेख छ।

दोस्रो बुँदामा भिजिट भिसा र अध्यागमनसँग सम्बन्धित नीतिगत विषयमा अध्ययन गर्न संरचना र व्यवस्था गर्न सरकारले ठोस पहल गर्ने उल्लेख छ।

यसरी तयार पारिएको ड्राफ्टबारे माओवादीले रास्वपा र काँग्रेसले एमालेलाई ब्रिफिङ गरेको छ । तर रास्वपाले भने त्यसमा सहमति जनाएन।

बस्नेतले तयार गरेको ड्राफ्टमा छानबिन र समिति भन्ने शब्द नपरेपछि रास्वपाका नेताहरूले बैठक सुरु गर्न सहमति जनाएनन्। यस विषयमा रास्वपाले थप समय माग गरेपछि बैठक अवरोध रोकिएन।

आइतबार साँझसम्म पनि सहमति नजुटे पनि संसद् बैठक साढे ६ बजे सुरु भएको थियो। प्रतिनिधि सभा बैठक सञ्चालन भएलगत्तै प्रतिपक्षी दलहरूले विरोध जनाए। त्यसपछि सभामुख देवराज घिमिरेले सोमबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरेका छन्।

प्रकाशित मिति: २५ जेष्ठ २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com