काठमाडौँ । पछिल्ला केही दिनदेखि भारतमा कोरोना भाइरस संक्रमण तीव्र रुपमा बढ्न थालेको छ। भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १३३ पुगेको छ।
मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्र ३७८ जना नयाँ संक्रमित फेला परेका छन् भने ७५३ जना निको भएर घर फर्किएका छन्। यसै अवधिमा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु पनि भएको छ।
सबैभन्दा बढी सक्रिय संक्रमित केरल राज्यमा छन्, जहाँ संक्रमितको संख्या १ हजार ९५० पुगेको छ। त्यसपछि गुजरातमा ८२२, पश्चिम बंगालमा ६९३ र राजधानी दिल्लीमा ६८६ सक्रिय संक्रमित छन्। जनवरी १, २०२५ यता भारतभर कोरोनाका कारण ६५ जनाले ज्यान गुमाइसकेका छन्।
भारतमा संक्रमण दर तीव्र रुपमा बढ्न थालेपछि नेपाल सरकार पनि सतर्क बनेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार भारतमा फैलिरहेको संक्रमण र केही मृत्युका घटनालाई ध्यानमा राख्दै नेपालले दुई साताअघि नै पूर्वतयारी थालिसकेको छ।
उनका अनुसार भारतसँग जोडिएका १७ स्थल नाका र ३ वटा अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्कमार्फत निगरानी बढाइएको छ। ती ठाउँमा खटिएका स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको र आवश्यक सावधानी अपनाउन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार













प्रतिक्रिया