काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा–नयाँ शक्ति) ले आगामी जेठ ३० गते १०औं स्थापना दिवस मनाउने भएको छ। पार्टीले काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा विशेष कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ।
पार्टीका केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठका अनुसार, समारोहलाई भव्य बनाउन वैकल्पिक राजनीतिक धारका नेताहरूलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिनेछ। कार्यक्रममा विवेकशील साझा पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नागरिक उन्मुक्ति पार्टी, र जनमत पार्टीका नेताहरूलाई निमन्त्रणा गरिने योजना छ।
तर, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) जस्ता परम्परागत दलहरूलाई भने निमन्त्रणा दिइएको छैन।
श्रेष्ठका अनुसार, नागरिक समाजका अगुवा, बौद्धिक वर्गका प्रतिनिधि तथा समाजमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरूलाई पनि कार्यक्रममा सहभागी गराइनेछ।
पार्टीले विगत एक दशकदेखि वैकल्पिक र अग्रगामी राजनीतिमा केन्द्रित रहँदै आएको दाबी गर्दै आएको छ। सो अवसरमा, पार्टीका नेताहरूले १० वर्षे राजनीतिक यात्रा, भावी रणनीति तथा वैकल्पिक शक्ति निर्माणका सम्भावनाहरूमा छलफल गर्ने जनाइएको छ।
प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार












प्रतिक्रिया