काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद सुरेश आलेमगरले भिजिट भिसाका नाममा भइरहेको मानव तस्करी प्रकरणलाई गम्भीर काण्डका रूपमा उल्लेख गर्दै गृहमन्त्री रमेश लेखकले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने माग गरेका छन्।
सोमबार राष्ट्रिय सभाको आकस्मिक समयमा बोल्दै सांसद आलेमगरले गृहमन्त्री लेखकको व्यक्तिगत इमान्दारिता र नैतिकतामा प्रश्न नउठाए पनि, उनको मातहतका निकायहरूमा देखिएको अव्यवस्था र संलग्न व्यक्तिहरुका विवादास्पद क्रियाकलापले निष्पक्ष छानबिन सम्भव नहुने अवस्था सिर्जना भएको भन्दै राजीनामा आवश्यक भएको बताए।
“गृहमन्त्रीज्यू इमान्दार हुनुहुन्छ, नैतिकवान हुनुहुन्छ भन्नेमा हामीलाई शंका छैन। तर उहाँ मातहतका निकायहरू विशेष गरी अध्यागमन कार्यालय र उहाँकै सचिवालयमा रहेका केही व्यक्तिहरू अतीतमा विवादास्पद प्रकरणमा मुछिएका छन्,” उनले भने, “त्यस्ता व्यक्तिहरू किन मन्त्रीको छनोटमा परे भन्ने हाम्रो प्रश्न हो। गृहमन्त्रीले बदमासी गर्नुभएको छ भन्ने हाम्रो आरोप होइन। तर यस्ता परिस्थितिमा उहाँको नैतिकताप्रति हामीले देखाएको सम्मानलाई उहाँले प्रमाणित गर्न राजीनामा दिएर छानबिनलाई सहज बनाउनुपर्छ।”
उनले भिजिट भिसा प्रकरणलाई नेपालमा देखा परिरहेको नयाँ मानव तस्करीको रूप मानेका छन् र यो विषय गम्भीर, रहस्यमय र उच्चस्तरीय छानबिनको खाँचो रहेको बताए। “हामीले भिजिट भिसा छाड्न चाहेका थियौं, तर भिजिट भिसाले हामीलाई छाडेन। त्यसैले यसलाई गम्भीरतापूर्वक लिँदै उच्चस्तरीय छानबिनको माग गरेका हौं,” सांसद आलेमगरले स्पष्ट पारे।
प्रतिनिधि सभामा प्रतिपक्षी दलहरू संसदीय छानबिन समिति गठन भएमा गृहमन्त्रीको राजीनामा नमाग्ने भन्ने सहमति नजिक पुगेको जनाउँदै उनले भने, “यदि यस्तो सहमति पक्का हुन्छ भने हामी पनि राजीनामाको अडानबाट पछि हट्न सक्छौं। तर सहमति नपुगेमा गृहमन्त्रीले नैतिक जिम्मेवारी वहन गर्दै पदबाट राजीनामा दिनुपर्छ।”
उनले अध्यागमन विभागका प्रमुख तीर्थराज भट्टराईलगायत अन्य व्यक्तिहरुको निष्पक्ष छानबिन सुनिश्चित गर्न राजीनामाको माग गरिएको प्रस्ट पारे। सांसद आलेमगरका अनुसार, निष्पक्षता र विश्वसनीयता कायम गर्न गृहमन्त्रीको राजनीतिक निर्णय जरुरी छ।
प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार













प्रतिक्रिया