काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई सार्वजनिक रूपमा कडा प्रश्न गरेका छन्। सामाजिक सञ्जालमार्फत् आवाज उठाउँदै उनले धरानको सिटी अस्पताल निर्माणका लागि सरकारको प्रतिबद्धता कहाँ छ भनेर प्रश्न गरेका हुन्।
मेयर साम्पाङले सत्ता पक्ष नेपाली कांग्रेसनिकट नेपाल तरुण दलको भवन निर्माणका लागि सहरी विकास मन्त्रालयले ३ करोड रुपैयाँ बजेट छुट्याएको समाचारलाई उदाहरण दिँदै टिप्पणी गरेका छन्। उनले लेखेका छन्:
“आफ्नो कार्यकर्ताको भवन बनाउन ३ करोड दिने कांग्रेसले धरानको सिटी अस्पताल बनाउन कति दिँदो रै’छ! हेर्छु! पत्र बुझाएको छु अस्ति! स्वास्थ्य मन्त्रीज्यू!”
उनले उक्त विषयमा स्वास्थ्य मन्त्री पौडेललाई औपचारिक रूपमा पत्र पनि बुझाइसकेको जानकारी दिएका छन्।
केही दिनअघि सार्वजनिक रूपमा चर्चामा आएको समाचारअनुसार, सहरी विकास मन्त्रालयले नेपाल तरुण दलको भवन निर्माणका लागि ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। तर, उक्त बजेट वास्तवमा गणेशमान सिंह स्मृति भवनका लागि हो भन्ने दाबी गरिएको छ। यद्यपि, प्रारम्भिक रूपमा बजेट तरुण दलको भवनका रूपमा प्रयोग हुने चर्चा भएपछि त्यसको चौतर्फी आलोचना भएको थियो।
विवाद बढेपछि नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले विज्ञप्ति जारी गर्दै स्पष्ट पारेका थिए कि बजेट तरुण दलको भवन निर्माणका लागि नभई, तरुण दलको सिफारिसमा गणेशमान सिंह स्मृति भवनका लागि विनियोजन गरिएको हो।
धरानको स्वास्थ्य पूर्वाधारमा केन्द्र सरकारको ध्यान नपुगेको आरोप लगाउँदै मेयर साम्पाङको सार्वजनिक प्रश्नले राजनीतिक प्राथमिकता र विकासका मुद्दामाथि नयाँ बहस सिर्जना गरेको छ।
प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार












प्रतिक्रिया