एजेन्सी । विश्वविद्यालयका विद्यार्थीहरूलाई उनीहरूको क्याम्पसमा फर्काउँदै गरेको बस सोमबार उत्तरी मलेसियामा एउटा मिनिभ्यानमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको प्रहरी र उद्धार सेवाहरूले बताएका छन् ।

थाई सीमा नजिकैको व्यस्त पूर्व–पश्चिम राजमार्गमा गेरिक सहर नजिकै १३ जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा मृत्यु भएको थियो । मलेसियाको खतरनाक सडकमा एक दशकभन्दा बढी समयमा भएको यो सबैभन्दा घातक दुर्घटना हो ।
‘बसले नियन्त्रण गुमाएको र पछाडिबाट मिनिभ्यानलाई ठोकेको जस्तो देखिन्थ्यो’, पेराक राज्य प्रहरी प्रमुख हिशाम नोर्दिनले भने । अग्नि र उद्धार विभागले खिचेका घटनास्थलका तस्बिरहरूले देखाएअनुसार हरियो बस दाहिने छेउमा पल्टिएको थियो र पछाडिको भागको आवरण भाँचिएको थियो भने रातो मिनिभ्यान खाडलमा खसेको थियो र यसका झ्यालहरू फुटेका थिए ।

advertisement

‘केही पीडित आफैँ बाहिर निस्कन सफल भए, केही पीडित बाहिर फ्याँकिए भने अन्यहरू अझै बसमा फसेका थिए’, पेराक राज्य विपद् व्यवस्थापन प्राधिकरणले एक विज्ञप्तिमा भन्यो । उद्धारकर्ताहरूले बसबाट मानिसहरूलाई निकाल्न हाइड्रोलिक कटर प्रयोग गर्नुपरेको थियो । मृत्यु हुनेहरूमा सुल्तान इद्रीस शिक्षा विश्वविद्यालयका १४ विद्यार्थी थिए भने अन्तिम पीडित बस परिचारक थिए ।

अन्य ३३ जना घाइते भएका छन् । तीमध्ये सात जनालाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ । अधिकांश पीडित २१ देखि २३ वर्षका थिए । उनीहरू उत्तरपूर्वी मलेसियाको जेर्तेह सहरबाट यात्रा गरिरहेका थिए । दुर्घटना स्थानीय समयानुसार बिहान १ः०० बजेपछि भएको थियो ।

प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com