काठमाडौं । अमेरिकाको एरिजोना र हवाई राज्यबाट डिपोर्ट गरिएका ३२ जना नेपाली पुरुष र ५ जना महिला आइतबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन्। उनीहरूलाई अमेरिका सरकारले ओम्नि एयर इन्टरनेशनलको चार्टर विमानमार्फत नेपाल पठाएको हो।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार, तीमध्ये ३५ जना अवैध रूपमा अमेरिका प्रवेश गरेका थिए। बाँकी दुईमध्ये एक जना डिभी (डाइभरसिटी भिसा) परेर र अर्का एक जना अध्ययनको सिलसिलामा अमेरिका पुगेका थिए। ती दुईजनालाई पनि पछि निष्कासन गरिएको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले जानकारी दिए।

advertisement

डिपोर्ट गरिएका नेपालीहरू अमेरिका हुँदै बङ्गलादेशको ढाका ट्रान्जिट प्रयोग गरेर नेपाल आइपुगेका हुन्। तीमध्ये एकजनासँग मात्र नेपाली राहदानी भेटिएको छ भने बाँकी सबैजना अमेरिकी अध्यागमनले जारी गरेको ‘ट्राभल डकुमेन्ट’का आधारमा फिर्ता आएका हुन्।

अमेरिका पुग्न उनीहरूले पनामा हुँदै जङ्गल पार गरेर मेक्सिकोको सीमा पार गरेका थिए। त्यसपछि उनीहरूले अमेरिका प्रवेश गरेका थिए र त्यहाँ शरणार्थीको मान्यता पाउन संघर्ष गरेका थिए। तर, कानुनी मान्यता नपाउँदै उनीहरूलाई अमेरिकाको इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (ICE) ले पक्राउ गरी लामो समय थुनामा राखेपछि निष्कासन गरेको भेटिएको छ।

डिपोर्ट भएका केही व्यक्तिहरूले अमेरिका पुग्नका लागि बिचौलियामार्फत ८० लाख रुपैयाँसम्म खर्च भएको बताएका छन्। तर, अमेरिका पठाउने गिरोहको विवरण भने उनीहरूले खुलाउन चाहेनन्। एसपी कुँवरका अनुसार, “उहाँहरूले अमेरिका लैजाने गिरोहबारे कुनै जानकारी दिएका छैनन्।”

फिर्ता भएकाहरूको अधिकांश संख्या दाङ, पूर्वी रुकुम र पश्चिम रुकुमका छन्। त्यस्तै, सिन्धुपाल्चोक, सिन्धुली, लमजुङ र म्याग्दीका पनि केही नेपाली अमेरिका पुगेको र त्यहीँबाट निष्कासित भएर फर्किएको पाइएको छ।

डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाबाट निष्कासनमा पर्ने नेपालीहरूको संख्या उल्लेखनीय रूपमा बढेको छ। हालसम्म उनका पालादेखि १६३ जना नेपाली डिपोर्ट भइसकेका छन्।

प्रहरीले त्रिभुवन विमानस्थलमा उनीहरूलाई सामान्य सोधपुछ गरेपछि आफ्ना परिवारकहाँ घर फर्कन अनुमति दिएको जनाएको छ। एकजना प्रहरी अधिकारीका अनुसार, “उनीहरू सबै सामान्य अवस्थामा देखिएका छन् र उनीहरू आफ्ना सामान बोरा–झोलामा लिएर फर्किएका छन्।”

प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com