काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं–तराई–मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) सडक आयोजना अन्तर्गतको सुरुआती बिन्दुमा देखिएको विवाद समाधानका लागि ललितपुरको खोकना र बुङमती क्षेत्रका स्थानीय प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित छलफलमा खोकनाका समाजसेवी मदनकृष्ण डङ्गोल, नेकपा (एमाले) ललितपुर महानगर कमिटी अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डङ्गोल, एमाले वडा नं. २१ का अध्यक्ष ज्ञानभक्त महर्जनसहितको टोलीले प्रधानमन्त्रीसँग भेटी उत्पन्न विवादका समाधान र सम्भावित विकल्पहरूबारे आफ्नो धारणा प्रस्तुत गरेका थिए।

advertisement

प्रतिनिधिहरूले द्रुतमार्गको सुरुआत खोकनाबाट गर्न खोजिँदा स्थानीयको परम्परागत सभ्यता, संस्कृति र ऐतिहासिक महत्वलाई गम्भीर क्षति पुग्ने भन्दै त्यसको सट्टा परियोजनाको सुरुआती बिन्दु खोकनाबाट करिब साढे पाँच किलोमिटर तल पर्ने डुकुछापमा सार्न सुझाव दिएका छन्।

छलफलमा रक्षा मन्त्रालयका सचिव रामेश्वर डङ्गाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरू र नेपाली सेनाका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।

प्रधानमन्त्री ओलीले सरकार जनतालाई पीडा हुने किसिमको विकासमा अघि नबढ्ने स्पष्ट पार्दै, अन्तिम निर्णय गर्नु अघि आफैँ स्थलमा पुगेर प्रत्यक्ष अवस्था अवलोकन गर्ने जानकारी दिनुभयो।

यसअघि प्रधानमन्त्री ओलीले माघ २३ गते सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, तथा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग आयोजनाको प्रगति र देखा परेका समस्या समाधानबारे छलफल गर्नुभएको थियो।

२०७४ सालमा सुरु गरिएको काठमाडौं–तराई–मधेश द्रुतमार्ग आयोजना कुल ७०.९७ किलोमिटर लम्बाइको छ। अनुमानित लागत २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ रहेको यो आयोजना २०८३ सालको चैतसम्म सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको छ।

प्रकाशित मिति: २६ जेष्ठ २०८२, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com