काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियाका गभर्नर गाभिन न्युसमलाई पक्राउ गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। सोमबार ह्वाइट हाउसमा पत्रकारसँगको कुराकानीका क्रममा ट्रम्पले गभर्नर न्युसमलाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्।
फक्स न्यूजका पत्रकार पिटर डुसीले ट्रम्पलाई सोधेका थिए, “गाभिन न्युसमले टोम होमनलाई आफूलाई पक्राउ गर्न चुनौती दिएका छन्। के उनले यो गर्नुपर्छ?” ट्रम्पले त्यसको जवाफमा भने, “म टोम भएको भए, पक्कै गर्थें।” उनले थपे, “गाभिन प्रचारको लोभी छन्, तर मलाई लाग्छ, उनलाई पक्राउ गर्नु राम्रो हुनेछ।”
राष्ट्रपतिले न्युसमलाई ‘राम्रो तर अत्यन्तै अक्षम व्यक्ति’ को संज्ञा पनि दिए।
यस अभिव्यक्तिको पृष्ठभूमिमा, ट्रम्पका सीमासम्बन्धी प्रमुख टोम होमनले क्यालिफोर्नियामा चलिरहेको अध्यागमन कारबाहीमा हस्तक्षेप गरे गभर्नर न्युसम र लस एन्जलसका मेयर करेन बासलाई पक्राउ गर्ने चेतावनी दिएका थिए। सोही चेतावनीको जवाफमा न्युसमले एमएसएनबीसीसँग भने, “उनी (टोम होमन) आफैलाई कडा व्यक्ति ठान्छन्। तर मलाई अझै पक्राउ नगरेको किन? म कहाँ छु भन्ने त उनलाई थाहा नै छ।”
यसबीच, गभर्नर न्युसमले सामाजिक सञ्जालमार्फत ट्रम्प प्रशासनको गतिविधिलाई अधिनायकवादी प्रवृत्तिको संज्ञा दिएका छन्। साथै, उनले ट्रम्प प्रशासनविरुद्ध कानुनी कारबाही गर्ने तयारीमा रहेको समेत जानकारी दिएका छन्।
हालै लस एन्जलसमा चर्किएको प्रदर्शन नियन्त्रण गर्न संघीय सरकारले ७०० भन्दा बढी स्थल तथा जल सैनिक तैनाथ गरेको छ। संघीय अध्यागमन इकाई (आईसीई)ले लुकेर बसेका आप्रवासीहरूलाई नियन्त्रणमा लिन थालेपछि केही क्षेत्रमा हिंसा भड्किएको थियो। प्रदर्शनको क्रममा बल प्रयोग गरिएर थप समस्या सिर्जना भएको भन्दै डेमोक्रेटिक नेताहरूले कडा आलोचना गरेका छन्।
- एजेन्सी
प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार













प्रतिक्रिया