काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सरोगेसी (गर्भ भाडामा लिने प्रक्रिया) बाट जन्मिएका सन्तानलाई कसरी नागरिकता दिने भन्ने विषयमा सरकारसँग स्पष्ट धारणा माग गरेका छन्।

मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले विज्ञानको विकाससँगै नेपालमा पनि सरोगेसीको प्रचलन बढ्दो रहेकाले यसको कानुनी तथा नागरिकताको पक्षबारे स्पष्ट नीति आवश्यक रहेको बताएका हुन्।

advertisement

“अहिले विज्ञानको विकाससँगै सरोगेसी आमाको विषय उठिरहेको छ,” उनले भने, “यसबाट जन्मिने बच्चाहरूलाई नागरिकताको सवालमा कसरी समेट्ने भन्ने गम्भीर प्रश्न खडा भएको छ। अहिले नै नागरिकता दिनमा समस्या आइरहेको छ भने भोलि सरोगेसीको चलन अझै बढेपछि झन जटिलता आउनेछ। त्यसकारण यस विषयमा सरकारको स्पष्ट योजना के छ भन्ने जान्न चाहन्छु।”

पाण्डेले नेपालमा पनि सरोगेसीको प्रयोग बढ्दै गएको सन्दर्भमा कानुनी व्यवस्था स्पष्ट नहुँदा भविष्यमा नागरिकताको हकमा अन्यौलता बढ्न सक्ने चिन्ता व्यक्त गरे। विश्वका थुप्रै प्रसिद्ध व्यक्तिहरूले सरोगेसीमार्फत सन्तान जन्माएका उदाहरण उल्लेख गर्दै उनले नेपालमा पनि त्यस्तो अभ्यास सुरू भइसकेको बताए।

“सरोगेसीको कुरा अब काल्पनिक होइन, यथार्थ बनिसकेको छ। विज्ञानले त्यो सम्भव बनाइसकेको छ। अब यसलाई नागरिकताको विधेयकमा कसरी सम्बोधन गर्ने भन्ने विषयमा गम्भीर बहस आवश्यक छ,” पाण्डेले भने।

उनले नागरिकतासम्बन्धी कानुन संशोधन विधेयकमा यस्ता समसामयिक र संवेदनशील विषयलाई समेट्नुपर्ने आवश्यकता औंल्याए। समितिमा हाल ‘नेपाल नागरिकता ऐन, २०६३’ संशोधन सम्बन्धी विधेयकमाथि छलफल जारी छ।

प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com