काठमाडौं । नेकपा (एमाले) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४औँ महाधिवेशनमा नेतृत्व चयनमा सहमति नजुटेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ।
अध्यक्ष पदमा पाँच जना आकांक्षीबीच सहमति नजुटेपछि अध्यक्ष मण्डलले सुजन कडरियाको नाम प्रस्ताव गरेको थियो। त्यसपछि प्रतिनिधिहरूले हलमै नाराबाजी गरेपछि निर्वाचन समिति सक्रिय बनेको हो।
निर्वाचन समितिले मंगलबार कार्यतालिका सार्वजनिक गर्दै उम्मेदवारी दर्ताको प्रक्रिया आजै हुने जनाएको छ। समितिका अनुसार, उम्मेदवारी फारम वितरण आज अपराह्न ३ देखि ५ बजेसम्म र फारम दर्ता ४ देखि ६ बजेसम्म हुनेछ। प्रारम्भिक नामावली राति ८ बजेसम्म सार्वजनिक गरिनेछ।
मतदान भोलि (जेठ २८ गते) बिहान १० बजेदेखि साँझ ५ बजेसम्म हुने कार्यतालिकामा उल्लेख छ।
अध्यक्ष पदका लागि सुजन कडरिया, दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई र अञ्जना सिवाकोटीले दाबी गरेका छन्। कडरियालाई प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थन रहेको बताइएको छ।
महाधिवेशन कीर्तिपुरमा जारी छ।


प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार












प्रतिक्रिया