विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू गुटगत राजनीतिबाट टाढा रहेको स्पष्ट पार्दै कुनै व्यक्तिगत आकांक्षा नरहेको बताएकी छन्।

विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले आफ्नो राजनीतिक यात्रा नेकपा (एमाले) बाट सुरु भएको र राष्ट्रपतिको जिम्मेवारी समेत सोही पार्टीबाट निर्वाह गरेको स्मरण गराउँदै, भविष्यमा पनि एमालेकै पक्षबाट राजनीति गर्ने धारणा व्यक्त गरिन्।

advertisement

“मैले गुटबन्दी गरेर हिँडेको भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत कहिल्यै भन्न सक्दैनन्,” भण्डारीले भनिन्, “मैले कुनै व्यक्तिगत स्वार्थ राखेकी छैन, न त गुटको राजनीति गर्छु।”

उनले आफू कुनै पनि कार्यक्रममा जान र आफ्ना विचार राख्न स्वतन्त्र रहेको बताउँदै, संगठित सदस्यताको औपचारिकताअघि नै पार्टीमा सक्रिय रहीसकेकोले कार्यक्रमहरूमा आमन्त्रण हुनु स्वाभाविक भएको धारणा राखिन्।

“जनताको राष्ट्रिय आकांक्षा बुझ्नका लागि म एमालेको कुनै समिति वा नेताको अनुमति लिएर मात्र बोल्नुपर्ने होइन,” उनले स्पष्ट पारिन्।

पूर्वराष्ट्रपति भण्डारीले वर्तमान राजनीतिक अवस्थाबारे धारणा राख्दै, वामपन्थी शक्तिहरूबीच एकताको सम्भावना हालका अवस्थामा नदेखिएको बताइन्। पार्टीहरूबीच आपसी विश्वासको संकट देखिएकाले, राष्ट्रिय एकताको विषयमा गम्भीर छलफल आवश्यक रहेको उनको तर्क थियो।

“आजको अवस्थामा आपसी विश्वासको खडेरी देखिएको छ,” उनले भनिन्, “त्यसैले राष्ट्रको हितका लागि मिलेर छलफल गर्दै अघि बढ्नु उचित हुनेछ।”

प्रकाशित मिति: २७ जेष्ठ २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com