काठमाडौं । बढ्दो गर्मीसँगै डेङ्गु सङ्क्रमण बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष मङ्गलबारसम्म एक हजार २८१ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ ।
महाशाखाका निर्देशक डा.चन्द्रभाल झाले यो वर्ष डेङ्गुको सङ्क्रमण ७२ जिल्लामा फैलिसकेको जानकारी दिँदै सबैभन्दा बढी डेङ्गुको पुष्टि काठमाडौँमा भएको बताए । झाका अनुसार मनाङ, रसुवा, डोल्पा, हुम्ला र महोत्तरी जिल्लामा डेङ्गु पुष्टि भएको छैन ।
प्रदेश अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा डेङ्गु पुष्टि भएको छ । झाका अनुसार बागमतीमा ३४३, कोशीमा २४६, गण्डकी २३४, लुम्बिनी २०७, सुदूरपश्चिम १७४ र कर्णाली प्रदेशमा ६२ जनामा डेङ्गु पुष्टि भएको छ । सबैभन्दा कम सङ्क्रमण मधेश प्रदेशमा छ । मधेशमा १७ जनामा डेङ्गु पुष्टि भएको छ । मधेशमा गर्मी हुने भएकाले सबैभन्दा बढी डेङ्गु सङ्क्रमण मधेशमा हुनुपर्नेमा सबैभन्दा कम सङ्ख्या पुष्टि भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. झाले मधेश प्रदेशको रिपोर्ट कम भएर डेङ्गुको सङ्क्रमण हुने सङ्ख्या कम भएको हुन सक्ने बताए । जिल्लागत रूपमा सबैभन्दा बढी काठमाडौँमा १३६ जनालाई पुष्टि भएको छ । यस्तै, कास्की ९२, सुनसरी ८७, झापा ७६, पाल्पा ७६, रुपन्देही ४९, कञ्चनपुर ३७, दाङ ३२ र भक्तपुरमा ३० जनामा डेङ्गु पुष्टि भएको छ । गत वर्षभन्दा यो वर्ष डेङ्गु सङ्क्रमण कम पुष्टि भएको उनको भनाइ छ । डेङ्गु नियन्त्रणका लागि स्थानीय निकायमा आठ करोड बजेट छुट्याइएको छ ।
प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार












प्रतिक्रिया