काठमाडौं । इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले मुस्लिम देशहरूले आफ्नो केही जमिन छोडेर भविष्यका लागि प्यालिस्टिनी राज्य बनाउन सुझाव दिएका छन् ।

बीबीसीसँगको अन्तर्वार्तामा हकाबीले मुस्लिम देशहरूसँग इजरायलले नियन्त्रण गरेकोभन्दा ६४४ गुणा बढी जमिन रहेको भन्दै उनले भने, “प्यालिस्टिनी राज्य नै चाहिएको हो भने कुनै देशले हामी यसलाई आफ्नो राज्य बसाउन चाहन्छौँ भनेर भन्न सक्छन् ?”

advertisement

राजदूतले टु स्टेट सोलुसन (दुई–राज्य समाधान)लाई एक आकांक्षात्मक लक्ष्य रहेको बताए । यो इजरायल र प्यालिस्टिनीबीच शान्तिको लागि प्रस्तावित सूत्र हो र यसलाई धेरै अमेरिकी प्रशासनलगायत अन्तर्राष्ट्रिय समर्थन पनि छ ।

टु स्टेट सोलुसनले इजरायलले कब्जा गरेको पश्चिमी किनार र गाजामा पूर्वी जेरुसेलमलाई राजधानी बनाएर एक स्वतन्त्र प्यालिस्टिनी राज्यको परिकल्पना गर्दछ । यो इजरायलसँगै अस्तित्वमा हुनेछ ।

ब्लुमबर्गसँगको अर्को अन्तर्वार्तामा हकाबीले अमेरिकाले अब स्वतन्त्र प्यालिस्टिनी राज्यको लक्ष्य नपछ्याएको बताए ।तर, पछि विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसले राजदूत आफ्नो भनाइका लागि स्वयं जिम्मेवार भएको बताए ।

मध्यपूर्वमा अमेरिकी नीतिको लागि राजदूत नभएर राष्ट्रपति जिम्मेवार हुने पनि उनले बताए । यो महिनाको अन्त्यमा न्युयोर्कमा संयुक्त राष्ट्रसंघमा फ्रान्सेली र साउदी कूटनीतिज्ञहरूले प्यालिस्टिनी राज्यको लागि रोडम्याप तय गर्ने उद्देश्यले एक सम्मेलन आयोजना गर्ने बताइएको छ ।
हकाबीले कुनै भविष्यको प्यालिस्टिनी राज्य कहाँ बन्न सक्छ वा अमेरिकाले यस्तो प्रयासलाई कसरी समर्थन गर्छ भन्ने स्पष्ट नपारे पनि उनले यो सम्मेलनलाई असामयिक र अनुपयुक्त भने । पश्चिमी किनारमा प्यालिस्टिनी राज्य हुन सक्दैन भन्ने प्रश्नमा हकाबीले भने, “म यो कहिल्यै हुन सक्दैन भन्न चाहन्न तर एउटा संस्कृति परिवर्तन हुनुपर्छ ।”

इजरायलले टु स्टेट सोलुसनलाई अस्वीकार गर्छ । यसले कुनै पनि अन्तिम सम्झौता प्यालिस्टिनीहरूसँग वार्तामार्फत हुनुपर्छ र राज्य बानउने माग पूर्वसर्त हुनु नहुने धारणा राख्छ । बीबीसी

प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com