काठमाडौं। काठमाडौं जिल्ला अदालतले विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउन आदेश दिएको छ। अदालतले मंगलबार दुई अनलाइन नेपालखबरडटकम र बिजमान्डुडटकविरुद्दको ‘निषेधाज्ञा’ मुद्दामा सुनुवाइ गर्दै निवेदकको विषयमा छापिएका समाचार नै हटाउन आदेश जारी गरेको हो। अदालतले एक पछि अर्को गर्दै सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउन आदेश दिन थालेपछि न्यायलयको निष्पक्षतामाथि प्रश्नसँगै चौतर्फी आलोचना सुरु भएको छ।
न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले निवेदकले मागेबमोजिमको आदेश किन जारी हुन नपर्ने हो भन्ने विषयमा प्रतिवादी रहेका नेपालखबर र बिजमान्डुलाई १५ दिनभित्र लिखित जबाफ पेश गर्न आदेश दिएको छ। तर विपक्षीलाई सोध्दै नसोधी समाचार नै हटाउन निर्देशन दिएपछि अदालतको निष्पक्षतामाथि नै प्रश्न उठेको छ।
अदालतबाट जारी आदेशमा भनिएको छ, ‘निवेदकलाई हुन सक्ने अपूरणीय क्षति र सुविधा सन्तुलन समेतको दृष्टिकोणबाट विपक्षीहरूलाई वेबसाइट, अनलाइन वा अन्य माध्यमबाट अप्रमाणीत, तथ्यहीन समाचारहरू प्रकाशन नगर्नु,नगराउनु, प्रकाशित भएका समाचारहरू अनलाइनबाट तुरून्त हटाउन लगाउनु भनी विपक्षीहरूको नाममा जिल्ला अदालत नियमावाली २०७५ को नियम ३४(१)बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिदिएको छ।’
अल्पकालीन अन्तरिम आदेशले निरन्तरता पाउने नपाउने विषयमा विपक्षीसमेतको छलफलका लागि अदालतले असार ४ गते पेसी तोकिदिएको छ।
सञ्चारमाध्यमको नियामक निकाय प्रेस काउन्सिलले उजुरीका आधारमा अनुसन्धान गरी सम्बन्धित सञ्चारमाध्यमलाई कारबाही गर्न सक्ने व्यवस्था हुँदाहुँदै क्षेत्राधिकार नाघेर अदालतले समाचार नै हटाउनू भनेर आदेश गरेपछि नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ। साथै लोकतन्त्रको मर्म मास्ने गरी अदालतले गलत निर्णय गर्न थालेको भन्दै सामाजिक संजालमा व्यापक आलोचना भईरहेको छ।
यस अघि सिधाकुरा डटकमले संवैधानिक इजलासमा रंगेहात घुससम्बन्धी मुद्दामा चलखेल गरेर फैसला भएको दाबी गरिएको सामग्री प्रकाशित गरेपछि सर्वोच्च अदालतले सिधाकुरा अनलाइन र त्यही नामबाट सञ्चालित युट्युब च्यानलमा राखिएको सामग्री २४ घण्टाभित्र हटाउन आदेश दिएको थियो ।
त्यसतै केहि दिन अघि काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामचन्द्र खड्काले एमएडब्ल्यूका सञ्चालक बिष्णु अग्रवालमाथि क्षति पुग्ने गरी सामग्री प्रकाशित भएको भन्दै सयपत्री मिडिया प्रालि अर्थात् योहो टेलिभिजनलाई समाचार हटाउन आदेश जारी गरेको थियो। हालै नेपाली कांग्रेसका सभापति देउवापुत्र जयबीरका बिरुद्द समाचार सम्प्रेषण गर्ने पत्रकार दिलभूषण पाठकविरुद्द अदालतले पक्राउ पुर्जी नै जारी गरेको छ।
प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार












प्रतिक्रिया