काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्वले जनमुखी र प्रभावकारी सेवा दिन नसक्दा जनस्तरमा असन्तुष्टि बढिरहेको बताएका छन्।
मुस्ताङ जाँदै गर्दा म्याग्दीको अन्नपूर्ण गाउँपालिका अन्तर्गत भुरुङ–तातोपानी, रुप्से झरना र अन्धगल्छीको निरीक्षणपछि स्थानीय जनप्रतिनिधि र बासिन्दासँगको अन्तरक्रियामा बोल्दै उनले देशका विभिन्न स्थानमा पुग्दा जनताले सुशासन, समृद्धि र स्थायित्वको तीव्र चाहना व्यक्त गरिरहेको अनुभव सुनाए।
अध्यक्ष प्रचण्डले वर्तमान व्यवस्था सबैको साझा प्रयास र समन्वयबाट सुधार गर्दै अघि बढाउनुपर्नेमा जोड दिए।
उनले भने, “राजनीतिक नेतृत्वले जनतामैत्री र प्रभावकारी कार्यशैली अपनाउन नसक्दा असन्तुष्टि बढ्नु स्वाभाविक हो। यही असन्तुष्टिलाई आधार बनाएर केही तत्वहरू मुलुकलाई पुनः निरङ्कुशतातर्फ लैजाने प्रयासमा छन्। त्यसकारण गणतन्त्र पक्षधर सबै शक्ति एकजुट हुनु अत्यावश्यक छ।”
उनले जनतामा ‘गणतन्त्रको विकल्प भनेको सुधारिएको गणतन्त्र नै हो’ भन्ने चेतना गहिरिँदै गएको उल्लेख गर्दै देश अहिलेको व्यवस्थाबाट पछि हट्ने अवस्थामा नरहेको स्पष्ट पारे।
प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार












प्रतिक्रिया