काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले पार्टीले अघि सारेको पाँच बुँदे प्रस्तावमा सत्ता पक्षले सहमति नजनाएसम्म संसद्को अवरोध जारी रहने बताएका छन्।
उनले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्न सत्तापक्ष तयार भए मात्र संसद् सुचारु गर्न सकिने स्पष्ट पारे। “यदि सत्ता पक्ष लुटतन्त्र मच्चाउनकै लागि सत्तामा आएको हो भनेर लिखित जानकारी दिन तयार भए, अवरोध तुरुन्त हटाउँछौँ,” उनले व्यङ्ग्य गर्दै भने।
“हामीले सहमतिका लागि पाँच बुँदे प्रस्ताव सत्ता पक्षलाई बुझाएका छौँ, तर अहिलेसम्म कुनै जवाफ आएको छैन। भिजिट भिसा काण्डको गहिरो छानबिन आवश्यक छ, त्यसका लागि उच्चस्तरीय समिति बनाइनुपर्छ,” उनले जोड दिएका छन।
झाले विपक्षी दलहरू उक्त मागमा एकमत रहेको दाबी गरे। माओवादी केन्द्र र एकीकृत समाजवादीको फरक प्रस्तावबारे आफूहरूलाई जानकारी नभएको उल्लेख गर्दै उनले कांग्रेससँग भएको सहमति जनतासामु यथावत् प्रस्तुत गरिएको बताए।
सत्ता र विपक्षी दलहरूबीच संसद् अवरोधको विषयमा छलफल भइरहेको जानकारी पनि उनले दिएका छन् ।
प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार












प्रतिक्रिया