काठमाडौं । माओवादी केन्द्रसहितका प्रमुख विपक्षी दलहरूको आज बिहान संसद भवनमा बसेको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रस्तुत गरेको पाँच बुँदे प्रस्तावलाई स्वीकार गर्ने निर्णय गरेको छ। बैठकले सत्ता पक्षलाई पनि उक्त प्रस्तावमा सहमत गराउन पहल गर्ने जनाएको छ।

बैठकमा माओवादी केन्द्रका वर्षमान पुन, हितराज पाण्डे, रास्वपाका सन्तोष परियार, नेपाल समाजवादी पार्टीका राजेन्द्र पाण्डे, जनता समाजवादी पार्टीका अध्यक्ष प्रभु साहलगायतका नेताहरू सहभागी थिए। बैठकपछि जसपा अध्यक्ष साहले पत्रकारहरूसँग कुरा गर्दै विपक्षी दलहरुले रास्वपाको प्रस्ताव ग्रहण गरेको र यसबारे कांग्रेस, एमाले लगायतका दलहरुलाई जानकारी गराउने तयारी रहेको बताए।

advertisement

बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र रास्वपाका प्रमुख सचेतक सन्तोष परियार कांग्रेस र एमालेका नेताहरूसँग छलफल गर्न पुगेका छन्।

रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा, भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन, तथा थप तीन बुँदासहित संसदमा पाँच बुँदे प्रस्ताव पेश गर्दै आएको छ। तर सत्तारूढ गठबन्धनले सो प्रस्ताव नस्वीकार्दा संसदको गतिरोध जारी छ।

यता सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले आज मन्त्रिपरिषद् बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सत्ता पक्ष र विपक्षी दलहरूबीच संवाद भइरहेको जानकारी दिए। उनले गृहमन्त्रीले भिजिट भिसासम्बन्धी उठेका प्रश्नको जवाफ दिने र छानबिन समिति गठनबारे छलफल भइरहेको उल्लेख गर्दै आज वा भोलिसम्म संसद्‌ अवरोध अन्त्य हुन सक्ने सम्भावना पनि व्यक्त गरे।

प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com