काठमाडौं । भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन र गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै आएको प्रतिपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित भएको छ।
नाराबाजीसहितको अवरोध कायमै रहेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गर्दै अब अर्को बैठक बिहीबार (भोलि) दिउँसो ३ बजे बस्ने घोषणा गरेका छन्।
जेठ १४ गतेदेखि प्रमुख प्रतिपक्ष माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा र एकीकृत समाजवादीका सांसदहरूले संसद् अवरुद्ध गर्दै आएका छन्।
सभामुख घिमिरेले पटक–पटक सांसदहरूलाई दलीय रूपमा विषयवस्तु राख्नका लागि आग्रह गरे पनि विपक्षी सांसदहरूले नाराबाजी जारी राखेपछि बैठक सञ्चालन हुन नसकेको हो।
सभामुख घिमिरेले भने, “सदन दुई सातादेखि ठप्प छ। देशका गम्भीर विषयमा छलफल गर्ने सर्वोच्च निकाय संसद् हो। त्यसका लागि आवश्यक वातावरण बनाउनु पर्छ। आसन ग्रहण गरेर सदन चल्न दिनुस्। सदनलाई प्राणहीन बनाउने काम नगरौं।”
तर, बारम्बारको आग्रह पनि बेवास्ता गर्दै सांसदहरू नाराबाजीमै रहेपछि सभामुखले आजको बैठकका सबै कार्यसूची हटाउँदै बैठक स्थगित गरेका हुन्।
प्रतिपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाउँदै छानबिन समिति गठन र उनको राजीनामा माग गर्दै आएका छन्।
प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार












प्रतिक्रिया