काठमाडौं । वरिष्ठ पत्रकार दिलभूषण पाठकले आफ्नो प्रशारित सामग्रीका कारण सरकारले बलपूर्वक नियन्त्रणमा लिन खोजेको गम्भीर आरोप लगाएका छन्। उनले यसप्रति आपत्ति जनाउँदै सम्बन्धित सञ्चार निकायहरूलाई आवश्यक पहल गर्न आग्रह गरेका छन्।

पाठकले नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपाललाई इमेलमार्फत पत्र पठाउँदै सहयोगको अपेक्षा व्यक्त गरेका हुन्। उक्त पत्रमा उनले प्रहरीको केन्द्रीय साइबर ब्युरोमा आफूविरुद्ध परेको उजुरीका आधारमा अदालतबाट पक्राउ अनुमति लिइएको तर त्यसबारेमा आफूलाई कुनै जानकारी नदिएको उल्लेख गरेका छन्।

advertisement

पत्रकार पाठकले प्रसारण गरिएको सामग्रीप्रति असहमति वा गुनासो भएमा कानुनी प्रक्रिया अनुसार पहिलो चरणमा आफूसँग सम्पर्क गर्नुपर्ने र त्यसपछि मात्र प्रेस काउन्सिलमा उजुरी दिनुपर्ने वैधानिक बाटो रहेको स्मरण गराएका छन्। उनले प्रेस काउन्सिललाई अनुसन्धान तथा छानबिन गर्ने अधिकार रहेको स्पष्ट पार्दै त्यसलाई बेवास्ता गर्दै सिधै विद्युतीय अपराध ऐन अन्तर्गत कारबाही गर्न खोजिनु आपत्तिजनक रहेको जनाएका छन्।

‘समाचारकै आधारमा फौजदारी कानुन प्रयोग गरी कारबाही गर्न खोजिएको घटना गम्भीर आशंकाको विषय बनेको छ,’ पाठकले पत्रमा उल्लेख गरेका छन्, ‘त्यसमाथि उजुरी र आरोपबारे कुनै जानकारी नदिई एक्कासि बलपूर्वक पक्राउ गर्न खोजिनुले अझ गम्भीर प्रश्न उठाएको छ।’

पत्रकार पाठकले यस्ता गतिविधिले प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष खतरा उत्पन्न गराउने भन्दै प्रेस काउन्सिल र पत्रकार महासंघलाई समयमै हस्तक्षेप गर्न अनुरोध गरेका छन्।

प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com