काठमाडौं । सत्तारुढ नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले भिजिट भिसा प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको पाँच बुँदे प्रस्तावमाथि छलफल हुनै नसक्ने बताएका छन्।
संसद भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले उक्त प्रस्ताव स्वीकार्य नहुने स्पष्ट गर्दै भोलिसम्म संसद अवरुद्ध रहे पनि संसद आफ्नै कार्यविधिअनुसार सञ्चालन हुने बताए।
‘रास्वपाले पेश गरेको पाँच बुँदे प्रस्तावमा छलफल हुन सक्दैन,’ भट्टराईले भने, ‘हामी माओवादी केन्द्रसँग भएको दुई बुँदे सहमतिको पक्षमा छौँ, जसमा ड्राफ्टसमेत समेटिएको छ। रास्वपाको प्रस्ताव त्यसअनुकूल छैन, त्यसैले त्यसतर्फ जान सकिन्न।’
उनका अनुसार विपक्षी दलहरूले भोलिसम्मको समय छलफलका लागि माग गरेका कारण संसद बैठक दिउँसो ३ बजेका लागि तय गरिएको हो। भट्टराईले अघिल्ला समयमा पनि विपक्षीको नाराबाजीबीच संसद सञ्चालन भएको उदाहरण दिँदै सभामुखको भूमिकामा भर पर्ने बताए।
उनले माओवादी केन्द्रले रास्वपाको प्रस्ताव अस्वीकार गरिसकेको दाबी पनि गरे। तर, आज बसेको प्रमुख विपक्षी दलहरूको संयुक्त बैठकले भने रास्वपाको पाँच बुँदे प्रस्तावलाई समर्थन गर्ने निर्णय गरिसकेको छ।
संसदमा जारी गतिरोधको समाधानका लागि सत्ता गठबन्धन र विपक्षी दलबीच सहमति खोजी भइरहे पनि प्रस्तावमा मतभेद कायमै देखिएको छ।
प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार












प्रतिक्रिया