काठमाडौं । लस एन्जलसका मेयर करेन बासले बुधबार एक पत्रकार सम्मेलनमार्फत शहरको डाउनटाउन क्षेत्रमा ‘आपतकालीन कर्फ्यू’ लागु हुने घोषणा गरेका छन्।
यो निर्णय अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (ICE) ले कागजातविहीन आप्रवासीहरूमाथि चलाएको छापा र त्यसपछिको निरन्तर प्रदर्शनलाई ध्यानमा राख्दै गरिएको हो।
मेयर बासले कर्फ्यू प्रत्येक साँझ ८ बजेदेखि बिहान ६ बजेसम्म लागू हुने बताउँदै यो केही दिनसम्म कायम रहने सम्भावना प्रकट गरे। “म कर्फ्यूको अवधि लम्ब्याउनेबारे भोलि निर्वाचित प्रतिनिधिहरू र सुरक्षा निकायसँग छलफल गर्नेछु, तर अहिलेको अवस्था हेर्दा यो केही दिनसम्म चल्ने अपेक्षा गर्न सकिन्छ,” उनले भने।
लस एन्जलस प्रहरी विभाग (LAPD) का प्रमुख जिम म्याकडोनलले पनि सहरभरि बढ्दो अशान्तिको कारण जनजीवन र सम्पत्तिको सुरक्षा सुनिश्चित गर्न कर्फ्यू आवश्यक भएको बताए।
उता, राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कार्यकालको सुरुवातदेखि नै कागजातविहीन आप्रवासीहरूविरुद्ध कडा कारबाही गर्ने अडान लिएका थिए। होमल्यान्ड सुरक्षा विभागले गत हप्ता लस एन्जलसमा गरिएको आइसिई अपरेसनमा कैयौँ विदेशी नागरिक पक्राउ परेको पुष्टि गरिसकेको छ।
आइसिई कारबाहीप्रति चर्को विरोध भएपछि राष्ट्रपति ट्रम्पले शान्ति सुरक्षाको लागि लस एन्जलसमा दुई हजार नेसनल गार्ड सेना तैनाथ गर्न आदेश दिएका थिए। उनले मङ्गलबार सार्वजनिक रूपमा शान्ति नबहाल नहुँदासम्म सेना सहरमै रहने स्पष्ट पारे।
प्रकाशित मिति: २८ जेष्ठ २०८२, बुधबार













प्रतिक्रिया