काठमाडौं । लामो समयदेखि अवरुद्ध रहेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक र नगरसभा पुनः सञ्चालन गर्ने तयारी थालिएको छ। मेयर बालेन्द्र साह (बालेन) ले यसका लागि पहल अघि बढाएका छन्।

हिजो अपराह्न मेयर साहले उपमेयर सुनीता डंगोलसहित प्रमुख तीन दलबाट निर्वाचित तीन जना वडाध्यक्षसँग करिब चार घन्टा गोप्य छलफल गरेका हुन्। छलफलमा नेपाली कांग्रेसबाट निर्वाचित वडा नम्बर १७ का वडाध्यक्ष तथा महानगर प्रवक्ता नवीन मानन्धर, एमालेबाट निर्वाचित वडा नम्बर ३२ का वडाध्यक्ष नवराज पराजुली र नेकपा (एस) बाट निर्वाचित वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोल सहभागी थिए।

advertisement

छलफलमा मेयर बालेनले ‘अब मिलेर अगाडि बढ्नुपर्छ’ भन्ने प्रस्ताव राखेको एक सहभागीले जानकारी दिए। बैठक चाँडै बोलाउने र एजेन्डा तय गर्ने विषयमा सहमति जुटेको जनाइएको छ। छलफललाई निरन्तरता दिने निर्णय पनि भएको छ।

पुस १४ गतेयता काठमाडौं महानगरको कार्यपालिका बैठक बसेको छैन। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंमाथि मेयर बालेनले भ्रष्टाचारको आरोप लगाउँदै निलम्बनमा राखेपछि विवाद चुलिएको थियो। सो घटनापछि उपमेयर डंगोलसहित अधिकांश कार्यपालिका सदस्यहरू मेयरको विपक्षमा उभिएका थिए। कर्मचारीसमेतको साथ नपाएका बालेनले अहिले जनप्रतिनिधिहरूलाई विश्वासमा लिने प्रयास थालेका हुन्।

वडाध्यक्षहरूसँगको बैठक सकिएपछि मेयर बालेन र उपमेयर डंगोलबीच छुट्टै वार्ता भएको महानगर स्रोतले जनाएको छ। झण्डै अढाइ महिनादेखिको संवादहीनता यस छलफलमार्फत टुटेको हो।

प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालय प्रवेशमा सहयोग पुर्‍याएको विषयमा मेयर बालेन उपमेयरप्रति असन्तुष्ट बनेका थिए। त्यसयता मेयर र प्रशासकीय अधिकृत गुरागाईंबीच कुनै औपचारिक भेटघाट वा संवाद भएको छैन।
१५ असारभित्र महानगरको वार्षिक बजेट ल्याउनु पर्ने संवैधानिक दायित्व भए पनि अहिलेसम्म बजेटसम्बन्धी कुनै प्रक्रिया सुरु भएको थिएन। कार्यपालिका बैठक नबसेका कारण नीतिगत निर्णयहरू प्रभावित भएका छन्।

तर अब भने कार्यपालिका र नगरसभा समयमै सञ्चालनमा आउने संकेत देखिएको छ। जनप्रतिनिधिहरू पनि निर्धारित समयमा बजेट प्रस्तुत हुने आशामा छन्।

मेयर बालेनको पछिल्लो प्रयासले लामो समयदेखि जटिल बनेको महानगरको राजनीतिक तथा प्रशासनिक गतिरोध हट्ने आशा गरिएको छ। सहकार्य र संवादको सुरुवातले काठमाडौं महानगरलाई पुनः संस्थागत बाटोमा फर्काउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com