काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र भारतबीच विभिन्न क्षेत्रमा सम्भावित साझेदारी र कनेक्टिभिटीको सुदृढीकरणले दुवै देशको साझा समृद्धि सुनिश्चित गर्न सक्ने बताएकी छन्।

नेपाल–भारत रणनीतिक संवादसम्बन्धी काठमाडौँमा आयोजित कार्यक्रमको उद्घाटन गर्दै मन्त्री राणाले व्यापार, पारवहन र लगानीमा आपसी सहयोगलाई तीव्रता दिँदै आर्थिक साझेदारीलाई प्रवर्द्धन गर्न कनेक्टिभिटीलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिइन्।

advertisement

उनले भनिन्, “म त्यो भविष्यको प्रतीक्षा गर्दैछु, जहाँ नेपाली किसानको अदुवा २४ घण्टामा मुम्बईको बजारमा पुग्छ र भारतीय पर्यटकले दिल्लीमा बैठक सकेर साँझ पोखराको यात्रा गर्न सक्छ। यस्तो निकटताले दुई देशका नागरिकको समृद्धिको आधार तयार पार्नेछ।”

मन्त्री राणाले नेपाल–भारत सम्बन्ध ऐतिहासिक, सांस्कृतिक र सभ्यताको गहिरो आधारमा निर्मित भएको उल्लेख गर्दै जनसम्पर्क, सहकार्य र कनेक्टिभिटीले दुवै देशको उज्वल भविष्य सुनिश्चित गर्न भूमिका खेल्ने बताइन्।

सडक, रेल, जलमार्ग, हवाई मार्ग र डिजिटल पूर्वाधारमा थप लगानी गरेर पारस्परिक सम्पर्क सञ्जाललाई विस्तार गर्नुपर्ने आवश्यकतामा उनले विशेष जोड दिइन्। “सम्पर्क सञ्जालले पारवहन, व्यापार र सीमा अर्थतन्त्रलाई मात्र होइन, क्षेत्रीय र विश्वव्यापी आपूर्ति श्रृंखलालाई पनि समृद्ध बनाउनेछ,” उनले भनिन्।

विश्वव्यापी आर्थिक संरचना डिजिटल प्रविधि र ज्ञानमा आधारित बन्दै गएको सन्दर्भमा मन्त्री राणाले नेपाल र भारतले डिजिटल अर्थतन्त्र, प्रविधि, नवप्रवर्तन, शिक्षा, सीप विकास र रचनात्मक उद्योगमा सहकार्य बढाउनुपर्ने धारणा राखिन्।

ऊर्जा क्षेत्रलाई नेपाल–भारत साझेदारीको प्रमुख उदाहरणको रूपमा प्रस्तुत गर्दै उनले भनिन्, “नेपालको जलविद्युत् सम्भावनाले स्वच्छ, नवीकरणीय ऊर्जा स्रोतको रूपमा भविष्यका पुस्ताका लागि उपयोगी योगदान पुर्‍याउनेछ।”

उनले भारतको आगामी दशकमा नेपालबाट १० हजार मेगावाट विद्युत् आयात गर्ने प्रतिबद्धतालाई उल्लेख गर्दै प्रसारण लाइन, ग्रिड कनेक्टिभिटी र सीमापार विद्युत् व्यापार विस्तारजस्ता क्षेत्रमा दुई देशबीच सहकार्य मजबुत भएको बताइन्।

डिजिटल क्षेत्रको सम्भावनाबारे बोल्दै मन्त्री राणाले भनिन्, “भारतमा उच्च स्तरको डिजिटल सीप र नवप्रवर्तन क्षमता छ भने नेपालमा प्राविधिक रुचि भएका युवाहरूको संख्या बढ्दैछ। टेक हब, स्टार्टअप र डिजिटल प्लेटफर्महरूमा सहकार्य गरेर हामीले युवालाई प्रविधिको माध्यमबाट समृद्धिको बाटोमा अघि बढाउनुपर्छ।”

प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com