काठमाडौँ  । प्रतिनिधिसभामा भिजिट भिसा प्रकरणको विषयलाई लिएर जेठ १३ गतेदेखि जारी अवरोध हटाउने प्रयासस्वरूप प्रमुख तीन राजनीतिक दलबीच आज छलफल हुने भएको छ।

आज दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा बैठकअघि सत्ता गठबन्धनमा रहेका नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) बीच बैठक तय भएको हो।

advertisement

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले संसद्को गतिरोध अन्त्य गर्ने उद्देश्यले तीन दलबीच आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा छलफल हुने जानकारी दिए। “संसद्मा देखिएको अवरोध हटाउन कांग्रेस, एमाले र माओवादीबीच बैठक हुँदैछ ।

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) काठमाडौँ फर्किएपछि पहिलो चरणमा प्रतिपक्षी दलहरूको बैठक बस्ने र त्यसपछि कांग्रेस तथा एमालेसँग संयुक्त छलफल हुने बताइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भिजिट भिसा सेटिङ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तथा प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएपछि विपक्षी दलहरूले संसद् बैठक अवरुद्ध गर्दै आएका छन्।

उनीहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदीय समिति वा न्यायिक आयोगमार्फत छानबिन हुनुपर्ने अडान राख्दै आएका छन्। तर, सत्तारूढ दलहरूले अख्तियार स्वयं संवैधानिक छानबिन निकाय भएकाले पृथक समिति आवश्यक नरहेको तर्क गर्दै आएका छन्।

साथै, गृहमन्त्री लेखक प्रत्यक्ष रूपमा छानबिनको दायरामा नपरेको कारण देखाउँदै सत्तापक्षले उनको राजीनामा आवश्यक नरहेको स्पष्ट पारेको छ।

प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com