काठमाडौं । काठमाडौं महानगरपालिकाको कार्यालयमा हालै जडान गरिएको लिफ्टमा गम्भीर अनियमितता भएको आरोप लाग्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। अधिवक्ता युवराज सफलले महानगर प्रमुख बालेन शाहविरुद्ध उजुरी दर्ता गराउँदै सार्वजनिक खरिद प्रक्रियाको उलंघन गरिएको दाबी गरेका छन्।
उजुरीमा उनले सार्वजनिक निकायले कुनै पनि सामग्री खरिद वा सेवा प्राप्त गर्दा अनिवार्य रूपमा बोलपत्र आह्वान गर्नुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै, महानगरले प्रतिस्पर्धा बिना, टेन्डर र कोटेसन प्रक्रिया नअपनाई अपारदर्शी तरिकाले लिफ्ट जडान गरेको बताएका छन्।
“म नयाँ लिफ्ट जडान गरिएकोमा विरोधी होइन,” उजुरीमा उल्लेख गरिएको छ, “तर लिफ्ट जडान गर्दा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ११ तथा सार्वजनिक खरिद नियमावली, २०६४ विपरीत प्रक्रिया अपनाइएका कारण आपत्ति जनाइएको हो।”
सफलले अख्तियारसँग काठमाडौं महानगरले लिफ्ट जडानका लागि अपनाएको सम्पूर्ण प्रक्रिया र कागजातहरू माग गरी छानबिन गर्न आग्रह गरेका छन्।
उक्त उजुरीपछि महानगरपालिकाले लिफ्ट खरिद प्रक्रिया पारदर्शी रूपमा सम्पन्न भएको हो वा होइन भन्ने विषयमा अब छानबिन हुने निश्चित देखिन्छ।
प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया