काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेपछि सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले सार्वजनिक प्रतिक्रिया दिएका छन्।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै परियारले आफ्नो पेसागत जीवनमा सधैं नैतिक मूल्य र उत्तरदायित्वका साथ काम गरेको दाबी गरेका छन्। उनले अदालतप्रति पूर्ण विश्वास रहेको उल्लेख गर्दै कानुनी प्रक्रियाको सम्मान गर्दै आफूले निष्पक्ष रूपमा सामना गर्ने बताएका छन्।
उनले लेखेका छन्, “मैले मेरो पेसागत जीवनमा सधैं उच्च नैतिक मूल्य र उत्तरदायित्वका साथ काम गरेको छु। अहिले प्रश्न उठेकाले मैले अदालती प्रक्रियाको सम्मान गर्दै सोको विधिसम्मत रूपमा सामना गर्नेछु। सम्मानित अदालतबाट न्याय प्राप्त हुनेछ भन्नेमा मलाई पूर्ण विश्वास छ।”
परियार काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहँदा चार करोड रुपैयाँभन्दा बढीको आर्थिक अनियमितता भएको आरोपमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो। आयोगले बुधबार परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको हो।
प्रदीप परियार २०७९ माघ ५ गतेदेखि २०८० भदौ २७ गतेसम्म काठमाडौं महानगरमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा थिए। यही अवधिमा सार्वजनिक खरिद प्रक्रिया र भुक्तानीसम्बन्धी कार्यमा अनियमितता देखिएको भन्दै अख्तियारले अनुसन्धानपछि विशेष अदालतमा मुद्दा पेस गरेको हो।
प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया