काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद अफताब आलमलाई सफाइ दिने निर्णय सुनाउने उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश खुशीप्रसाद थारुमाथि चेम्बरमा बहुमतका कार्यकर्ताले कालो मसी छ्यापेका छन्।

बिहीबार उच्च अदालतको वीरगञ्जस्थित इजलासमा रहेको न्यायाधीश थारुको चेम्बरभित्र प्रवेश गरी नेकपाका बहुमत कार्यकर्ताहरूले कालो मसी छ्यापेका हुन्। थारुसहित न्यायाधीश अर्जुन महर्जनको संयुक्त इजलासले जेठ १४ गते आलमलाई रौतहट जिल्ला अदालतको दोषसिद्ध फैसला उल्ट्याउँदै सफाइ दिएको थियो।

advertisement

रौतहट विस्फोटक घटनामा दोषी ठहर भई जेल सजाय भोगिरहेका आलमलाई उच्च अदालतले आरोप प्रमाणित नभएको ठहर गर्दै मुक्त गरेको थियो। फैसलाको संक्षिप्त पाठमा उल्लेख भएअनुसार अदालतले आलमविरुद्धको मुद्दा चलाउन पूर्वमा महान्यायाधिवक्ताको कार्यालयले अनुमति नदिएको, साथै सर्वोच्च अदालतले दिएको परमादेशसमेतको आधारमा सफाइ दिएको जनाइएको छ।

त्यस्तै, विस्फोटमा घाइते भएका त्रिलोक प्रकाश सिंह उर्फ पिन्टु र ओशी अफताबलाई ट्याक्टरमा हाली राजा इँटा भट्टामा जिउँदै पोलिएको भन्ने गम्भीर आरोपलाई पुष्टि गर्ने पर्याप्त प्रमाण वादी पक्षले पेश गर्न नसकेको अदालतको भनाइ छ।

हालसम्म सो फैसलाको पूर्ण पाठ सार्वजनिक भइसकेको छैन। तर यो निर्णयलाई लिएर विभिन्न राजनीतिक दल, विशेषतः सत्तारूढ नेकपाको आक्रोश बढ्दो छ। अदालतभित्रै मसी छ्याप्ने घटना न्यायपालिका प्रतिको आस्था र मर्यादामाथि गम्भीर प्रश्न खडा गर्ने खालको भएको बताइँदैछ।

प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com