काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र पुनर्स्थापनाको आन्दोलन अझै पनि सशक्त रूपमा अघि बढिरहेको बताएका छन्।

राजा महेन्द्र वीर विक्रम शाहको १०५औँ जन्म जयन्तीको अवसरमा राप्रपा नेपालको राजनीतिक विभागद्वारा बिहीबार काठमाडौंमा आयोजित ‘राष्ट्र निर्माणमा स्वर्गीय श्री ५ महेन्द्रको योगदान’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो धारणा व्यक्त गरेका हुन्।

advertisement

उनले आन्दोलनको भविष्यप्रति केही मानिसहरूमा देखिएको चिन्ता, चासो र शंका हटाउन आग्रह गर्दै जनताको परिवर्तनको चाहनालाई केही व्यक्ति वा समूहले रोक्न नसक्ने स्पष्ट पारे।

थापाले भने, “कतिपय साथीहरूलाई आन्दोलनको भविष्यबारे चिन्ता र जिज्ञासा देखिएको छ। केहीले आन्दोलन असफल भयो वा तुहियो कि भन्ने सोच राखेका छन्। तर म अत्यन्तै विनम्रतापूर्वक भन्न चाहन्छु — जनताको परिवर्तनको चाहनालाई केही व्यक्तिको इच्छाले तुहाउन सकिँदैन। आन्दोलन निरन्तर जारी छ।”

उनले आन्दोलनमा केही कमजोरीहरू रहेको स्वीकार गर्दै तिनलाई सच्याउँदै नयाँ रणनीति र ढाँचाबाट आन्दोलनलाई थप प्रभावकारी रूपमा अघि बढाइने बताए। संयुक्त जनआन्दोलन समिति अझ सशक्त रूपमा प्रस्तुत हुने उनले स्पष्ट पारे।

“हामीसँग केही कमजोरीहरू थिए, तर अब ती सुधार गर्दै आन्दोलनलाई निर्णायक मोडमा लैजाने तयारी भइरहेको छ। संयुक्त जनआन्दोलन समिति आगामी दिनमा अझ सशक्त, संगठित र प्रभावकारी रूपमा अघि बढ्नेछ। यसमा संलग्न दल र समूहहरूबीचको एकता अटुट छ। कोही भ्रममा नपर्नुहोस् — यो एकता कसैले तोड्न सक्दैन,” थापाले भने।

अध्यक्ष थापाले परिवर्तन चाहने सबै राष्ट्रवादी, देशभक्त र प्रजातान्त्रिक शक्तिहरूलाई एउटै मोर्चामा ल्याउन आवश्यक रहेकोमा विशेष जोड दिए।

उनका अनुसार, राष्ट्रको समृद्धि र स्थायित्वका लागि वैकल्पिक विचारका रूपमा राजतन्त्रको पुनर्स्थापनासहितको आन्दोलनलाई अझ सशक्त बनाउने तयारीमा राप्रपा रहेको छ।

प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com