काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीरसिंह देउवाबारे सामाजिक सञ्जालमा स्टाटस लेखेको आरोपमा राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका संयोजक सुजित केसीविरुद्ध मुद्दा दायर गरिएको छ।
सरकारी वकिल कार्यालयले केसीमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत कारबाहीको माग गर्दै काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र पेश गरेको हो। जयवीर देउवाले प्रहरीको साइबर ब्यूरोमा दिएको निवेदन र जाहेरीको आधारमा प्रहरीले केसीलाई केही दिनअघि पक्राउ गरेको थियो।
अदालतको आदेशमा थुनामुक्त
केसीलाई प्रहरीले हिरासतमा राखेर म्याद थप्दै अनुसन्धान गरिरहेको बेला उनका परिवारले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले केसीलाई थुनामुक्त गर्ने आदेश दिएको थियो। थुनामुक्त हुनुअघि केसीले करिब ६ दिन काठमाडौं प्रहरी परिसरको हिरासतमा बिताएका थिए।
जाहेरीकर्ता ‘साइबर ब्यूरो ५५’ को आवरणमा
प्रहरी स्रोतका अनुसार केसी प्रहरीमा आफैं उपस्थित नभएपछि प्रहरी टोली उनकैमा पुगेको थियो। जयवीर देउवाले व्यक्तिगत रूपमा जाहेरी दिएका भए पनि अभियोगपत्रमा उनको नाम लुकाइएको छ। त्यसको सट्टा ‘साइबर ब्यूरो ५५’ भन्ने संक्षिप्त परिचय प्रयोग गरिएको छ।
स्टाटसबाट चरित्रहत्या भएको अभियोग
अभियोगपत्रमा उल्लेख अनुसार, केसीले फेसबुकमा लेखेको एक स्टाटसले जाहेरीकर्ताको प्रतिष्ठामा आँच पुग्ने, घृणा र द्वेष फैलाउने कार्य भएको र यसले चरित्र हत्या गरेको दाबी गरिएको छ। केसीले सो स्टाटस आफैं तयार गरी सार्वजनिक रूपमा आफ्नै वालमा पोस्ट गरेको भन्दै उनलाई विद्युतीय कारोबार ऐनको दफा ४७(१) अन्तर्गत कसुर गरेको अभियोग लगाइएको हो। उक्त दफाअनुसार पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
साथै अभियोगपत्रमा जयवीरलाई उचित क्षतिपूर्ति भराउनुपर्ने र पीडित राहत कोषमा पनि शुल्क जम्मा गराउनुपर्ने माग गरिएको छ।
हिल्टन होटल खरिदबारेको विवादित स्टाटस
केसीले लेखेको विवादित स्टाटसमा भनिएको थियो,
“भ्रष्टाचारबाट आर्जन गरिएको कालो धनलाई सेतो बनाउन गरिएको प्रपञ्च। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीरसिंह देउवाले काठमाडौं, नक्सालस्थित हिल्टन होटल खरिद गरेका छन्।”
यो स्टाटस केही समयपछि केसीले आफैं हटाएका थिए। प्रहरीलाई दिएको बयानमा उनले केही मिडिया र सामाजिक सञ्जालमार्फत जयवीरले ८ अर्बभन्दा बढी मूल्य पर्ने होटल खरिद गरेको थाहा पाएपछि असन्तुष्टि व्यक्त गर्न उक्त स्टाटस लेखेको बताएका छन्। तर पछि ती समाचारहरूमा आधार नभएको थाहा पाएपछि स्टाटस हटाएको दाबी उनले गरेका छन्।
प्रत्यक्षदर्शी, मोबाइल जब्त र फरेन्सिक प्रक्रिया
जयवीरले जाहेरी दिनु अघि नै स्टाटस हटाइसकेको भए पनि प्रहरीले ‘अम्मरबहादुर रावल’ नामका एक व्यक्तिले उक्त स्टाटस देखेको प्रमाणस्वरूप प्रत्यक्षदर्शीका रूपमा अभियोगपत्रमा समावेश गरेको छ। केसीलाई पक्राउ गरेपछि प्रहरीले उनको मोबाइल पनि नियन्त्रणमा लिएको छ, तर फरेन्सिक परीक्षण अहिलेसम्म सम्पन्न नभएको अभियोगपत्रमा उल्लेख गरिएको छ।
राप्रपाको कडा विरोध
यस घटनाप्रति राष्ट्रिय प्रजातान्त्रिक पार्टीले कडा प्रतिक्रिया दिएको छ। राप्रपा प्रवक्ता मोहन श्रेष्ठले यो कार्य अभिव्यक्ति स्वतन्त्रताविरुद्धको प्रहार भएको टिप्पणी गर्दै भने,
“सरकारले सामान्य स्टाटसको आधारमा मुद्दा हालेको छ, जुन अभिव्यक्ति स्वतन्त्रता र नागरिकको नैसर्गिक अधिकारमाथि हमला हो।”
उनले पत्रकार दिलभूषण पाठकमाथि पक्राउ पुर्जी जारी गरिएको र सुजित केसीमाथि मुद्दा दायर गरिएको उदाहरण दिँदै सरकारको सर्वसत्तावादी प्रवृत्ति प्रस्टिएको बताएका छन्।
“लोकतन्त्रको नाममा शासन गरिरहेको सरकारले यस्ता कदम चालेर लोकतान्त्रिक मूल्य र मान्यता नै तोड्न खोजेको छ,” श्रेष्ठको आरोप छ।
यो घटनाले सामाजिक सञ्जालमा अभिव्यक्ति दिने स्वतन्त्रताको सीमाना र राज्यको हस्तक्षेपबीचको सन्तुलनमाथि गम्भीर बहसको खाँचो औंल्याएको छ।
प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार












प्रतिक्रिया