काठमाडौं । लन्डन जान लागेकी एक भारतीय युवती १० मिनेट ढिलो विमानस्थल पुग्दा फ्लाइट छुटेकोमा खिन्न थिइन्, तर त्यही ढिलाइ उनको जीवनको सबभन्दा ठूलो सौभाग्य सावित भयो। उनले चढ्न नपाएको एयर इन्डियाको विमान उडेको केहीबेरमै भयावह दुर्घटनामा परेको थियो।
भारतीय समाचार माध्यम रिपब्लिक टीभीका अनुसार, भूमि चौहान नामकी ती युवती ट्राफिकमा परेकी कारण विमान छुटेको थियो। उनी एयर इन्डियाको एआई–१७१ नम्बरको लन्डन जाने उडानमा एक्ली यात्रातिर लागेकी थिइन्। तर विमान छुटेपछि केही मिनेटमै त्यो विमान अहमदाबाद विमानस्थल नजिकै दुर्घटनामा परेको थियो।
“मेरो शरीर अझै पनि काँपिरहेको छ। म अझै पनि पत्याउन सकिरहेको छैन कि म बाँचें। मेरो ज्यान जोगिएको छ भन्ने कुराले झनै डर लागिरहेको छ,” चौहानले सञ्चारमाध्यमसँग भावुक हुँदै भनिन्।
उनका अनुसार, उनी दिउँसो करिब १:३० बजे सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट निराश मुद्रामा फर्किएकी थिइन्। त्यही बेला विमान १:३८ बजे उडेकाे र केही मिनेटमै नजिकैको बस्तीमा खसेको थियो।
“मेरो दिमाग पूरै शून्य भयो। मैले महसुस गरें, भगवानले मलाई बचाउनुभयो। म मेरो गणपति बप्पाको सदैव आभारी छु,” उनले भनिन्।
भूमि चौहान दुई वर्षपछि बिदामा भारत आएकी थिइन्। लन्डनमा आफ्ना पतिको साथ बस्ने उनी अब फेरि लन्डन फर्कन लागेकी थिइन्। “त्यो १० मिनेट… मलाई त्यो समयमा निकै नराम्रो लागेको थियो, तर अहिले लाग्छ—त्यही समयले मेरो ज्यान बचायो,” उनले आँखा रसाउँदै भनिन्।
अर्कातर्फ, अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले दुर्घटनामा अहिलेसम्म २०४ जनाको ज्यान गएको पुष्टि गरेका छन्। “हामीले हालसम्म २०४ जनाको शव उद्धार गरेका छौं। केही जीवित भेटिन सक्ने सम्भावना अझै छ,” उनले बताए।
प्रकाशित मिति: २९ जेष्ठ २०८२, बिहिबार













प्रतिक्रिया