काठमाडौं । तीनकुनेमा भएको आगजनी तथा पत्रकार मृत्यु प्रकरणमा संलग्न ठहर भएका दुर्गा प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान गरिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो।
अदालतको आदेशपछि दुर्गा प्रसाईं, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणी रेग्मी, सुशील बराल, केशव बस्नेत र जितबहादुर श्रेष्ठलाई कारागार पठाइएको काठमाडौँ प्रहरी परिसरका एक अधिकारीले जानकारी दिए।
उनीहरूविरुद्ध २०८१ साल चैत १५ गते राजधानीको तीनकुनेमा पूर्वराजाको समर्थनमा भएको प्रदर्शनका क्रममा भएको आगजनी र पत्रकारको मृत्यु सम्बन्धी घटनामा अभियोजन गरिएको हो। सो दिन भएको झडपका क्रममा सुनौलो इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको भवनमा आगजनी हुँदा समाचार सङ्कलनका लागि घटनास्थलमा पुगेका पत्रकार सुरेश रजकको ज्यान गएको थियो।
प्रदर्शन दुर्गा प्रसाईं र नवराज सुवेदीको नेतृत्वमा भएको थियो। सो क्रममा प्रदर्शनकारीले सहकारी भवनमा आगो लगाएका थिए। उक्त भवनमा भएको आगजनीले पूर्ण क्षति पुर्याएको प्रहरीको भनाइ छ। घटनास्थलमै पत्रकार रजकको मृत्यु भएको पुष्टि भइसकेको छ।
प्रहरी अनुसन्धान अनुसार, रामेछापको सुनापति गाउँपालिकाका सरोज गौतम र अछाम पञ्चदेवल घर भएका गोकर्ण शाही समेत सो आगजनीमा प्रत्यक्ष संलग्न थिए। घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता देखिएपछि उनीहरूलाई समेत मुद्दा चलाइएको छ।
अदालतको आदेशअनुसार अब सबै सात अभियुक्त डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा रहनेछन्।
प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार












प्रतिक्रिया