काठमाडौँ । उच्च अदालत जनकपुर, वीरगञ्ज इजलासका न्यायाधीश खुसीप्रसाद थारूमाथि कालोमोसो दलिएको घटनाप्रति न्यायाधीश समाज, नेपालले गम्भीर आपत्ति जनाएको छ।

समाजले एक विज्ञप्ति जारी गर्दै न्याय सम्पादनको क्रममा अदालतमै कार्यरत न्यायाधीशमाथि भएको यस्तो आक्रमणलाई व्यक्तिगत स्तरको मात्रै नभई समग्र न्यायपालिका प्रणालीमाथिको प्रहारका रूपमा लिएको जनाएको छ। “न्याय सम्पादनका क्रममा इजलासमा कार्यरत न्यायाधीशमाथि यसरी गरिने आक्रमण निन्दनीय मात्र नभई न्यायपालिका स्वतन्त्रताको खिल्ली उडाउने कार्य हो,” विज्ञप्तिमा भनिएको छ, “यस्ता आपराधिक कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याई कडा कारबाही गर्नुपर्छ भन्ने हाम्रो माग छ।”

advertisement

घटना बिहीबार दिउँसो करिब ४ बजे वीरगञ्जस्थित अदालत परिसरमा भएको थियो। इजलास चलिरहेको समयमा केही व्यक्तिले न्यायाधीश थारूमाथि कालो मोसो फालेका थिए।

पर्सा जिल्ला प्रहरी कार्यालयका अनुसार घटनामा संलग्न रहेको आरोपमा गर्भु महतो, पदमबहादुर मगर र अविनाश भन्ने किशोर कुमारलाई पक्राउ गरिएको छ। उनीहरूले “नेकपा बहुमत पार्टी जिन्दावाद” तथा “जनताको कर खाएर जनताविरुद्ध फैसला गर्न पाइँदैन” भन्ने नारासहित आक्रमण गरेका थिए।

न्यायाधीश थारू र अर्जुन महर्जनको संयुक्त इजलासले जेठ १४ गते मानव हत्या आरोपमा रहेका मोहम्मद अफताब आलमलाई रौतहट जिल्ला अदालतले दिएको दोषी ठहरलाई उल्टाउँदै सफाइ दिएको थियो। उक्त फैसलापछि सामाजिक तथा राजनीतिक क्षेत्रबाट चर्को आलोचना भएको थियो।

न्यायाधीश समाज, नेपालले उक्त घटनाको भर्त्सना गर्दै न्यायाधीशमाथिको सम्मान र सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायलाई गम्भीर ध्यानाकर्षण गराएको छ।

प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com