काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रविन्द्र मिश्र र प्रतिनिधिसभाका सांसद धवलशमशेर राणा अदालतमा उपस्थित नहुँदा उनीहरूविरुद्ध फरार अभियुक्तको रूपमा पक्राउ पुर्जी जारी हुने भएको छ।
चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको अभियोगमा दर्ता गरिएको मुद्दामा मिश्र र राणा अदालतमा उपस्थित हुन असफल भएपछि जिल्ला सरकारी वकिलको कार्यालयले उनीहरूलाई फरार घोषित गर्दै पक्राउ पुर्जीको प्रक्रिया अघि बढाएको हो।
धवलशमशेर राणा उपचारका लागि अदालतमा हाजिर भई जमानीमा रिहा भएका थिए भने रविन्द्र मिश्र बन्दी प्रत्यक्षीकरण आदेशपछि थुनामुक्त भएका थिए। तर, जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा उनीहरूमाथि मुद्दा दायर गर्दा दुवैजनाले उपस्थिति जनाएका थिएनन्।
अदालतले उनीहरूलाई सम्पर्कविहीन ठहर गर्दै फरार अभियुक्त मानेको छ। यसबीचमा अनुसन्धान अधिकृतको जिम्मा लिने तीन जना कानुन व्यवसायी र एकजना स्वकीय सचिवलाई अदालतले २५–२५ हजार रुपैयाँ जरिवाना गरिसकेको छ। तर जरिवाना तिरेर पनि मिश्र र राणा अदालतमा उपस्थित नभएपछि अब उनीहरूलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गर्ने प्रक्रिया अघि बढाइएको हो।
यसअघि यही मुद्दामा अभियुक्त ठहर गरिएका दूर्गा प्रसाईसहित सात जनालाई बिहीबार राति पुर्पक्षका लागि थुनामा पठाइएको थियो। अब बाँकी रहेका मिश्र र राणाविरुद्ध कानुनी प्रक्रिया कडाइका साथ अघि बढाइने अदालत स्रोतले जनाएको छ।
प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार












प्रतिक्रिया