काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिट भिसा प्रकरणलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुट्दा आज (शुक्रबार) दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन।
सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सभामुख देवराज घिमिरेलाई दलहरूबीच सहमतिको प्रयास जारी रहेकाले केही समय पर्खन अनुरोध गरेका थिए। सोही अनुरोध अनुसार सभामुख घिमिरे दलहरूबीचको सहमतिको प्रतीक्षामा बैठक सञ्चालन नगरी बसेको प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए।
यसअघि बिहीबार सत्तारुढ नेपाली कांग्रेस, नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) बीच जेठ १३ देखि अवरुद्ध रहेको प्रतिनिधिसभा बैठक सञ्चालन गर्ने सहमति भएको भनिएको थियो। साथै, भिजिट भिसा प्रकरणमा देखिएको गम्भीर लापरबाहीबारे छानबिन गर्न संसदीय समिति गठन गर्ने समझदारी भएको नेताहरूले बताएका थिए।
तर, उक्त सहमति लिखित रूपमा औपचारिक नबन्दा समस्या झन् बल्झिएको छ। माओवादी केन्द्रले संसदीय छानबिन समिति गठनबारे लिखित प्रतिबद्धता माग गर्दै आएको छ। सत्तारुढ दलहरूले भने अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेकाले त्यसको प्रतिवेदनपछि मात्र संसदीय समिति गठन गर्ने अडान लिएका छन्।
यही विषयमा तत्काल लिखित सहमति गर्ने कि पछि गर्ने भन्नेमा दलहरूबीच मतभेद कायमै रहेको स्रोतले जनाएको छ।
यता, भिजिट भिसा प्रकरणमा निरन्तर संसद अवरुद्ध गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि केवल छानबिन समिति गठनले समस्या समाधान नहुने बताउँदै आएको छ। रास्वपाले गम्भीर र प्रभावकारी अनुसन्धानको माग गर्दै संसद पुनः सञ्चालनमा सहमति जनाउन अझै तयार देखिएको छैन।
संसदमा देखिएको यो गतिरोध कहिले अन्त्य हुन्छ भन्ने विषय अनिश्चित बनेको छ।
प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार












प्रतिक्रिया