काठमाडौँ । इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सका प्रमुख कमाण्डर होसेन सलामी इजरायली आक्रमणमा मारिएका छन्। शुक्रबार बिहान भएको यो आक्रमणमा ६५ वर्षीय सलामीसहित इरानका उच्चपदस्थ सैन्य अधिकारी र वैज्ञानिकको ज्यान गएको पुष्टि गरिएको छ। उनी इजरायली आक्रमणमा मारिएका हालसम्मकै सबैभन्दा वरिष्ठ इरानी नेता हुन्।

राष्ट्रवादी धारको कडा समर्थक रहेका सलामीले केही दिनअघि मात्र इरानमाथि आक्रमण भए “नरकको ढोका खोलिने” चेतावनी दिएका थिए।

advertisement

इजरायलले इरानका आणविक कार्यक्रम, ब्यालेस्टिक मिसाइल उत्पादन केन्द्र र सैन्य नेतृत्वलाई लक्षित गर्दै आक्रमण गरेको जनाएको छ। अमेरिका भने यस आक्रमणमा संलग्न नरहेको दाबी गर्दै आएको छ, यद्यपि घटनाले मध्यपूर्वमा पूर्ण युद्धको सम्भावना बढाएको विश्लेषण भइरहेको छ।

यस हमलामा इरानका सशस्त्र फौजका प्रमुख मोहम्मद बाघेरी, उपकमाण्डर गोलामअली रासिद, साथै केही वरिष्ठ आणविक वैज्ञानिकहरू पनि मारिएको जानकारी सार्वजनिक भएको छ।

इरानी सरकारका प्रवक्ताले इजरायल र अमेरिका दुबैलाई “गम्भीर मूल्य चुकाउनुपर्ने” चेतावनी दिएका छन्।

होसेन सलामीले सन् १९८० मा इरान–इराक युद्धको समयमा रिभोल्युसनरी गार्डमा सामेल भई सन् २००९ मा उपकमाण्डर बनेका थिए। एक दशकपछि उनी गार्डका प्रमुख पदमा पुगेका थिए। सन् २००० यताका उनको आणविक तथा सैन्य भूमिकाका कारण उनीमाथि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद् र अमेरिकाले प्रतिबन्ध लगाएका थिए।

केही समयअघि मात्रै उनले इरान “विश्वशक्ति बन्ने नजिक” पुगेको दाबी गरेका थिए। आक्रमणको अघिल्लो दिन उनले भनेका थिए, “हामी हरेक परिस्थिति, अवस्था र रणनीतिको लागि पूर्ण रूपमा तयार छौँ। शत्रुहरूले इरानलाई कमजोर ठान्नु ठूलो भूल हुनेछ। हामी युद्धमा प्रशिक्षित, अनुभवी र सशक्त छौँ।”

प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com