काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभा सञ्चालनबारे तीन प्रमुख दलबीच सहमति जुटेको बताएका छन्। सहमतिसँगै अब प्रतिनिधि सभा बैठक नियमित रूपमा चल्ने प्रचण्डले जानकारी दिएका हुन्।
नेपाली कांग्रेस, नेकपा (एमाले), र नेकपा (माओवादी केन्द्र) बीच शुक्रबार दुई बुँदे सहमतिमा हस्ताक्षर भएको हो।
सहमतिको मुख्य बुँदा:
भिजिट भिसा र अध्यागमन प्रकरण:
भिजिट भिसा तथा अध्यागमनसँग सम्बन्धित विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको र उक्त अनुसन्धानलाई निष्कर्षमा पुर्याउने जिम्मा आयोगकै हुने उल्लेख गरिएको छ। आयोगको मागअनुसार नेपाल सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
नीतिगत सुधारको प्रतिबद्धता:
अध्यागमन तथा भिजिट भिसा प्रणालीमा विगतदेखि देखिएको समस्याको समाधानका लागि अध्ययन, छानबिन गरी नीतिगत, कानुनी र संरचनात्मक सुधारका उपाय लागू गर्ने सरकारको प्रतिबद्धता छ।
रास्वपा सहमतिमा सहभागी भएन
सहमतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहभागी भएको छैन। रास्वपाले गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग दोहोर्याउँदै अडान कायमै राखेको छ।
अध्यक्ष प्रचण्डले रास्वपाले केही समय आफ्नो ढंगले अघि बढे पनि अब आरोप–प्रत्यारोप नगर्ने स्पष्ट पारे। उनले रास्वपाका नेतासँग आजै छलफल पनि गरेको जानकारी दिएका छन्।
प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार












प्रतिक्रिया