एजेन्सी ।  इरानको सम्भावित जवाफी कारबाहीको डरले इजरायलमा मानिसहरूले खाद्यान्न र पानी भण्डारण गर्न थालेका छन्। जेरुसेलमका सुपरमार्केटहरूमा सामानहरू छिटो सकिँदै छन्। विशेष गरी खाद्यान्न र पिउने पानीको माग ह्वात्तै बढेको छ।

स्थानीय समयअनुसार बिहान तीन बजे साइरन अलर्ट बजेपछि अधिकांश इजरायलीहरू त्रासमा ब्युँझिए। इजरायली रक्षा बलले इरानले एक सयभन्दा बढी ड्रोन र मिसाइल प्रहार गरेको पुष्टि गरेको छ। यो आक्रमण इजरायलको ‘अपरेशन राइजिङ लायन’ को जवाफमा भएको मानिएको छ।

advertisement

इजरायलमा आपतकालीन सेवाका लागि रगत संकलन तीव्र पारिएको छ। अस्पतालहरूले सामान्य अवस्थाका बिरामीलाई डिस्चार्ज गरी सम्भावित घाइतेहरूका लागि तयारी गरिरहेका छन्।
इजरायलले शुक्रबार बिहान इरानको परमाणु र सैन्य अड्डामा ठूलो आक्रमण गरेको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यो आक्रमण इरानको परमाणु सम्वर्द्धन कार्यक्रमको मुख्य केन्द्र नतान्जमा केन्द्रित रहेको बताए।

इरानको सरकारी सञ्चारमाध्यमले इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्सका प्रमुख जनरल हुसेन सलामी, सशस्त्र बलका प्रमुख मोहम्मद बघेरी, परमाणु वैज्ञानिक मोहम्मद मेहदी तेहरानची, फेरेयदुन अब्बासी र खातम-अल अन्हिया मुख्यालयका कमाण्डर घोलामाली रशीदको मृत्यु भएको पुष्टि गरेको छ।

इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका सल्लाहकार अली शामखानी गम्भीर घाइते छन्। खामेनीले इजरायलले ‘जघन्य अपराध’ गरेको र यसको सजाय भोग्नुपर्ने चेतावनी दिए। इरानले जवाफमा इजरायलमाथि एक सयभन्दा बढी ड्रोन र मिसाइल प्रहार गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली आक्रमणबारे पहिल्यै जानकारी भएको तर अमेरिकी सेना संलग्न नभएको बताए। उनले भने, ‘इरानसँग परमाणु हतियार हुनुहुँदैन। हामी वार्ता पुन: सुरु गर्न चाहन्छौँ, तर इरानमा धेरै कमजोर नेताहरू छन्।’

इरानको सेनाले इजरायल र अमेरिकाले यो आक्रमणको ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ। जोर्डनको अम्मानमा पनि ड्रोन अलर्टका लागि साइरन बजेका छन्। इजरायलले आपतकाल घोषणा गरेर इरानको सम्भावित जवाफी आक्रमणको तयारीमा जुटेको जनाएको छ। मध्यपूर्वमा तनाव चरमोत्कर्षमा पुग्दा विश्व बजारमा तेलको मूल्य ९ प्रतिशतले बढेको छ।

प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com