काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफू पूर्णतः निर्दोष रहेको दाबी गर्दै यस विषयमा आफू कुनै पनि रूपमा संलग्न नभएको प्रष्ट पारेका छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफ्नो विरुद्ध योजनाबद्ध र षड्यन्त्रमूलक ढंगले राजनीतिक आक्रमण गरिएको आरोप लगाए।
“मेरो चरित्र हत्या गर्ने नियतले नियोजित राजनीतिक आक्रमण भएको छ, जुन अत्यन्त दुर्भाग्यपूर्ण र आपत्तिजनक छ,” मन्त्री लेखकले भने, “यसप्रति म गहिरो खेद प्रकट गर्छु।”
उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भइरहेको छानबिनप्रति पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउँदै भने, “यदि मन्त्री वा सरकारसँग जोडिएको विषय हो भने विगतमा भ्रष्टाचारका कति मुद्दामा मन्त्रीहरू जवाफदेही भएका छन् भन्ने प्रश्न गर्न चाहन्छु।”
गृहमन्त्री लेखकले आफू लामो समयदेखि लोकतन्त्र, सुशासन र विधिको शासनको पक्षमा निरन्तर आवाज उठाउँदै आएको स्मरण गराउँदै भने, “मेरो राजनीतिक यात्राको आधार नै पारदर्शिता र जवाफदेहिता हो। त्यसैले कुनै पनि अनुचित कार्यमा मेरो संलग्नता हुने प्रश्न नै उठ्दैन।”
उनको भनाइमा, यो प्रकरणमा वास्तविक दोषीलाई कानुनी दायरामा ल्याउनु जरुरी छ, न कि राजनीतिक प्रतिशोधको माध्यमबाट चरित्र हत्या गर्नु।
प्रकाशित मिति: ३० जेष्ठ २०८२, शुक्रबार












प्रतिक्रिया